नेपाल टेलिकममा ८० जनाका लागि जागिर खुल्याे, अधिकृतदेखि प्राविधिकसम्मका लागि आवेदन माग
सरकारी स्वामित्वकाे दूरसञ्चार सेवाप्रदायक संस्था नेपाल टेलिकमले विभिन्न पदमा ८० जना नयाँ जनशक्ति थप्ने गरी खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ।
काठमाडाैँ । मुलुकको अग्रणी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले विभिन्न पदमा ८० जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र चुस्त बनाउन खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत रिक्त पदहरू परिपूर्ति गर्न लागेको हो।
यस विज्ञापनसँगै सरकारी सेवामा प्रवेश गर्न चाहने प्राविधिक तथा प्रशासनिक क्षेत्रका जनशक्तिका लागि नयाँ सम्भावना खुलेको छ।
टेलिकमले प्रकाशित गरेको विस्तृत विवरण अनुसार विभिन्न तहमा दक्ष जनसम्पर्क तथा प्राविधिक जनशक्ति माग गरिएको छ। कम्पनीले नवौँ तहको उप-प्रबन्धक पदअन्तर्गत चार्टर्ड एकाउन्टेन्टमा एक जनाका लागि आवेदन खुलाएको छ। यसैगरी, आठौँ तहमा वरिष्ठ इन्जिनियर, वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृत गरी तीन जनाको कोटा निर्धारण गरिएको छ।
प्राविधिक तथा प्रशासनिक दुवै क्षेत्रलाई समेट्दै सातौँ तहमा पनि महत्त्वपूर्ण पदहरूमा विज्ञापन गरिएको छ। जसमा टेलिकम इन्जिनियर इलेक्ट्रोनिक्स तथा कम्युनिकेशनतर्फ तीन, कम्प्युटरमा दश र इलेक्ट्रिकलमा तीन जनाका लागि अवसर दिइएको छ।
यता, छैटौँ तहमा सहायक प्रशासनिक अधिकृत नौ, सहायक व्यापार अधिकृत आठ र सहायक लेखा अधिकृत दुई जनाका लागि दरखास्त मागिएको छ। पाँचौँ तहमा तीन जना ओभरसियर, चौथो तहमा टेलिकम टेक्निसियन नौ र सहायक १७ जना तथा तेस्रो तहमा बाह्र जना कनिष्ठ प्राविधिकका लागि पनि ढोका खुला गरिएको छ।
नयाँ खुल्ने यी पदहरूका लागि नेपाल टेलिकमको आधिकारिक वेबसाइट तथा अनलाइन आवेदन प्रणालीमार्फत फारम भर्न सकिनेछ। तोकिएको न्यूनतम शैक्षिक योग्यता र मापदण्ड पुगेका इच्छुक नागरिकले तोकिएको समयसीमाभित्र अनलाइनमार्फत आफ्नो उम्मेदवारी दिन सक्नेछन्।
कम्पनीले आवेदन दिनका लागि दुई चरणको समय तोकेको छ। नियमित दस्तुर तिरेर आगामी मंसीर ३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। यदि कोही उम्मेदवारले उक्त नियमित समयाअवधिभित्र आवेदन बुझाउन छुटाएमा, उनीहरूले दोब्बर दस्तुर तिरेर मंसीर १० गतेसम्म आवेदन दर्ता गराउन सक्नेछन्।
यो प्रक्रियाले जागिरको तयारीमा जुटेका देशका विभिन्न भूभागका उम्मेदवारलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।















