१३ कार्तिक २०८३, शुक्रबार

हालसम्म दर्ता नभएका मध्ये कुन-कुन सामाजिक सञ्जालले गरे सरकारसँग सम्पर्क ?



काठमाडौं । दर्ता नभएर बन्द हुने २६ मध्ये दुई वटा मात्रै मात्र सरकारसँग सम्पर्कमा आएका छन् । सञ्चार मन्त्रालयका अनुसार हालसम्म ‘हाम्रो पात्रो’ र ‘एक्स’ मात्रै सरकारसँग सम्पर्कमा आएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार ती एप बन्द गर्ने पत्र पठाएको थियो । तर ‘हाम्रो पात्रो’ले दर्ता प्रक्रिया अगाडि बढाएको र ‘एक्स’ले दर्ताका लागि बुझ्न थालेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अन्य एप सञ्चालक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । शनिबार–आइतबार बिदा रहेकाले सोमबारदेखि मात्रै थप प्रतिक्रिया आउने सम्भावना छ ।

हाल नेपालमा भाइबर, टिकटक, वि–टक, निम्बज र पोपोलाइभ दर्ता भइसकेका छन् । तर, टेलिग्राम र ग्लोबल डायरी पनि दर्ता प्रक्रियामा छन्, बाँकी एपहरू हाल बन्द छन् ।