लाभांश सिजन सुरु : दुई बैंकको घोषणा, अधिकांश बैंक अन्तिम तयारीमा, कसले कति दिन सक्छन् ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश सिजन सुरु : दुई बैंकको घोषणा, अधिकांश बैंक अन्तिम तयारीमा, कसले कति दिन सक्छन् ?



काठमाडौं । यो वर्षका लागि लाभांश सिजन सुरु भइसकेको छ । आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने तयारी थालेका छन् ।

विभिन्न क्षेत्रका कम्पनीहरुले धमाधम लाभांश गरिरहेका छन् । प्रत्येक वर्षझैँ यसपालि पनि कुनै बैंकले कति लाभांश दिने, बोनस र नगद कति ? भन्ने चासोले लगानीकर्ताले तानेको छ ।

हाल कतिपय बैंकले लाभांश घोषणा गरिसकेका छन् भने केही अन्तिम तयारीमा छन् । गत आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट वाणिज्य बैंकहरुले पनि आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव सुरु गरिसकेका छन् ।

हाल संचालनमा रहेका मध्ये दुई वटा बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । वाणिज्य बैंकमा लाभांश घोषणा गर्ने पहिलो माछापुच्छ्रे बनेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरि कुल ८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको लाभांश क्षमता भने ९.२३ प्रतिशत रहेको थियो ।

यता, प्रत्येक वर्ष सेयरधनी मख्ख बनाउँदै आएको एभरेष्ट बैंकले पनि लाभांश घोषणा गरेको छ । गत आवको मुनाफाबाट यसपाली एभरेष्टले २० प्रतिशत लाभांश बाँड्ने भएको छ । बैंकले १४ प्रतिशत नगद लाभांश (करसमेत) र ६ प्रतिशत बोनस सेयर दिने भएको हो । बैंकले गत वर्ष ३८.२७ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको थियो ।

हाल यी बाहेकका १८ वटा बैंकको लाभांश घोषणा हुन् बाँकी छ । सानिमा र सिटिजन्स बैंक पनि आवश्यक प्रक्रिया पुरा गरेर अब केही दिनमै लाभांश घोषणा गर्ने तयारी जुटेका छन् । यी बैंकहरुले गत आवको वित्तीय विवरणको अन्तिम लेखापरीक्षण सकाएर रिभ्यु गरिरहेको अवस्था छ । यी दुई बैंक दशैं अघि नै लाभांश घोषण गर्ने तयारीमा रहेको बुझिएको छ ।

गत आवको वित्तीय विवरण अनुसार सिटिजन्स बैंकको लाभांश क्षमता ५.२५ प्रतिशत रहेको छ । गत आवमा बैंकले ४.२१ प्रतिशत लाभांश दिएको थियो । यता, गत आवमा आफ्ना सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश बाँडेको सानिमा बैंकले तयारी अवस्थामा रहेको बुझिएको छ । यो वर्षका लागि बैंकको लाभांश क्षमता २०.४७ प्रतिशत छ । गत वर्षको तुलनामा यसपाली आकर्षक लाभांश दिने अनुमान समेत गरिएको छ । लाभांश क्षमताकै आधारमा एभरेष्टपछि दोस्रो उच्च सानिमा बैंकको छ ।

अन्य कुन बैंकले कति दिन सक्छन् यो वर्ष लाभांश ?

यी बाहेकका अन्य ९ वटा बैंक दोहोरो अंकको लाभांश दिन सक्ने हैसियतमा देखिएका छन् ।

यो वर्षका लागि स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नबिल, प्राइम, ग्लोबल, सिद्धार्थ, लक्ष्मी सनराइज, नेपाल एसबिआई र एनएमबि बैंक १० प्रतिशत भन्दा माथि लाभांश दिन सक्ने सामार्थ्यमा देखिन्छन् ।

वित्तीय विवरण अनुसार स्ट्यान्डर्ड चार्टर्डले चुक्ता पुँजीको १९.८५ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा छ ।

यता, कृषि विकास बैंकको लाभांश क्षमता पनि उच्च नै छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई १८.४२ प्रतिशत लाभांश दिन सक्ने सामाथ्र्य बनाएको छ ।

यस्तै, नाफामा नम्बर वान कहलिएको नबिल बैंकको लाभांश क्षमता भने १७.६४ प्रतिशत, प्राइम बैंकको १४.३३ प्रतिशत, ग्लोबल आइएमइको १४.११ प्रतिशत, सिद्धार्थ बैंक १३.२२ प्रतिशत, लक्ष्मी सनराइज १२.३४ प्रतिशत, नेपाल एसबिआईको ११.२९ प्रतिशत र एनएमबि बैंक १०.४१ प्रतिशत रहेको छ ।

वित्तिीय विवरण अनुसार प्रभू बैंकको लाभांश क्षमता ४.४४ प्रतिशत, राष्ट्रिय वाणिज्यको १.९४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको १.४४ प्रतिशत देखिन्छ ।

तर, गत आवको मुनाफाबाट कुमारी, हिमालयन, एनआइसी एशिया र नेपाल बैंक भने लाभांश बाँडन नसक्ने अवस्थामा छन् ।

गत आवमा हिमालयनको वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख, एनआइसी एशियाको ५ अर्ब २१ करोड १८ लाख रुपैयाँ ऋणात्मक छ । यता, कुमारी बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ र नेपाल बैंकको ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ ।


प्रतिक्रिया दिनुहोस्