९ कार्तिक २०८३, सोमबार

वास्तविक विकासको बार्बाडाेस सन्देश- संकटसँग जुध्न कति सक्षम छन् साना राष्ट्र?



आर्थिक विकासलाई अब कति वित्तीय स्रोत जुटाइयो वा कति राजस्व दायरा सिर्जना गरियो भन्ने आधारमा मात्र मापन गर्नुहुँदैन। देशहरू आफ्ना प्राथमिकताहरू निर्धारण गर्न, चुनौतीहरूको सामना गर्न तथा आफ्नै भविष्यको निर्धारण गर्नका निम्ति नयाँ अवसरहरूको सदुपयोग गर्न कत्तिको सक्षम भएर निस्किएका छन् भन्ने कसीमा पनि यसलाई जाँच्नुपर्छ।

हामी प्रायः कुनै पनि देशको सम्पत्तिलाई प्राकृतिक स्रोत, प्रविधि र पुँजीको रूपमा हेर्ने गर्छौं। तर, विकासका क्रममा बाह्य कारकहरूबाट मात्र निर्देशित हुनुको सट्टा, आफ्नो भविष्य आफैँ तय गर्न सक्ने क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

हालैका वर्षहरूमा देखिएका प्रमुख वैश्विक दबाबहरूले यो यथार्थलाई अझ प्रष्ट पारेका छन्। कोभिड-१९, उकालो लागेको ब्याजदर, ऊर्जाको मूल्यमा भएको अकासिएको वृद्धि र तीव्र बन्दै गएको जलवायु संकटले धेरै साना राष्ट्रहरूलाई निरन्तर संकट व्यवस्थापनको चक्रमा अल्झाएका छन्।

अत्यधिक ऋणकाे भारी बाेकेका, अनि विविधीकरण नभएका अर्थतन्त्रहरूका लागि प्रत्येक नयाँ उथलपुथलले वर्षौंको योजनालाई पछि धकेलेको छ, जसले लचिलोपन (रेसिलियन्स)मा ठूलो लगानी गर्नुपर्ने माग बढाएको छ। यद्यपि, लचिलोपन मात्र पर्याप्त हुँदैन, किनकि कुनै देशले सबै कुरा सही गरे पनि यदि उससँग वास्तविक स्वायत्तता छैन भने अन्त्यमा उसको स्थिति झनै खराब हुन सक्छ।

विकासको वास्तविक परीक्षण भनेको यसले कुनै पनि देशको विकल्प र क्षमताहरूलाई कति विस्तार गर्छ भन्ने हो। बारबाडोसको नेतृत्वमा रहेको ‘ब्रिजटाउन इनिसिएटिभ’ पछाडिको अन्तर्दृष्टि यही नै हो, जसले थप बढी उत्तरदायी वित्तीय प्रणाली सिर्जना गर्ने, सुलभ दीर्घकालीन वित्त परिचालन गर्ने र वित्तीय झट्काहरूको व्यवस्थापनका लागि राम्रा उपकरणहरू विकास गर्ने लक्ष्य राखेको छ।

संकट उत्पन्न हुँदा राष्ट्रिय लक्ष्यहरू कायम राख्न देशहरूलाई यही कुराको खाँचो हुन्छ।

साना राष्ट्रहरूले यो कुरा राम्रोसँग बुझेका छन्। उनीहरूका लागि अनिश्चितता कुनै छिटपुट समस्या होइन, बरू एक निरन्तरको अवस्था हो। यी विषयहरू अन्तर्राष्ट्रिय एजेन्डाको नियमित हिस्सा बन्नुभन्दा धेरै अघिदेखि नै उनीहरू प्रकोप पूर्वतयारी र रणनीतिक स्वायत्तताको बारेमा सोच्दै आएका थिए।

जोखिमलाई पूर्ण रूपमा समाप्त गर्नु कहिल्यै पनि चुनौती थिएन, तर त्यसका बाबजुद कार्य गर्ने स्वतन्त्रता कायम राख्नु नै मुख्य कुरा थियो। बढ्दो भूराजनीतिक तनाव र जलवायु जोखिमको संसारमा स्वायत्तता कुनै पनि देशसँग हुनसक्ने सबैभन्दा मूल्यवान सम्पत्तिहरू मध्ये एक साबित भएको छ।

विकास सुधार प्रस्तावहरूको वर्तमान युगले संकटको सामना गर्न देशहरूलाई मद्दत गर्न आवश्यक पर्ने वित्तीय र नीतिगत दायरा फराकिलो बनाउनेतर्फ ध्यान केन्द्रित गरेको बुझ्न सकिन्छ। तथापि, अन्त्यमा महत्त्व राख्ने कुरा हो- लगानीले बलियो संस्थाहरू, गहिराे विशेषज्ञता, उच्च प्रतिस्पर्धी फर्महरू र जटिल समस्याहरू समाधान गर्ने ठूलो क्षमता पछाडि छोडेको छ कि छैन ?

यद्यपि अन्तर्राष्ट्रिय प्रणाली सडक र ऊर्जा प्रणालीदेखि लिएर अस्पताल र डिजिटल पूर्वाधारसम्मका परियोजनाहरूलाई वित्त पोषण गर्नमा बढी प्रभावकारी बनेको छ । विकासलाई केवल लगानीहरूको श्रृंखला वा वासलातका रेखाहरूमा सीमित गर्न सकिँदैन। ती लगानीहरूलाई डिजाइन गर्ने, कार्यान्वयन गर्ने, मर्मत गर्ने र विस्तार गर्ने साधनहरू निर्माण गर्नु नै कठिन कार्य हो।

यस्तो ज्ञान वा विशेषज्ञता केवल पूर्वाधारमा मात्र सीमित छैन। बारबाडोसको सार्वभौमिक ऋण पुनर्संरचना, ऋण स्थगन प्रावधान र ऋणदेखि कुनै पनि नवीनताहरू आकस्मिक रूपमा आएका होइनन्।

यसका लागि लामो समयसम्म आर्थिक व्यवस्थापनमा अनुशासन, वर्षौंको कठिन र कम चर्चा पाउने काममा वार्ता टोलीलाई साथ दिन तयार राजनीतिक नेतृत्व, र स्पष्ट पूर्वसन्दर्भ नभएका समस्याहरूको समाधान गरेर आफ्नो विशेषज्ञता विकास गरेका नीति निर्माताहरूको आवश्यकता परेको थियो।

यही पाठ फराकिलो अर्थतन्त्रमा पनि लागू हुन्छ। बारबाडोसले अब घरमै जलवायु-वित्त नेतृत्वको एक दशकमाथि निर्माण गर्दै खाद्य सुरक्षा, सामाजिक सुरक्षा, र ऊर्जा स्वतन्त्रताका महत्त्वाकांक्षापूर्ण पहलहरूलाई अगाडि बढाइरहेको छ। ब्याट्री-भण्डारण क्षमता बढाउन र देशको पहिलो युटिलिटी-स्केल विन्ड प्रोजेक्टलाई अगाडि बढाउन प्राविधिक योजनाहरूभन्दा अरू कुराकाे धेरै आवश्यकता पर्छ भन्ने हामी बुझ्छौं।

यी लगानीहरूलाई मन्त्रालयहरू, नियामकहरू, निजी क्षेत्र, लगानीकर्ताहरू र छिमेकी समुदायहरूबीचको समन्वयको आवश्यकता हुन्छ। विवादहरू समाधान गर्न, व्यावहारिक सम्झौताहरू बनाउन र अवरोधहरू उत्पन्न हुँदा परियोजनाहरूलाई अगाडि बढाइराख्न यी सबै पक्षहरूलाई एक ठाउँमा ल्याउनुमा नै सफलता निर्भर हुन्छ।

बारबाडोसको आफ्नै हालैका अनुभवहरूले विशेषज्ञता कसरी निर्माण हुन्छ भन्ने बारेमा एक व्यापक सत्यतर्फ संकेत गर्छन्। मानिसहरू काम गरेरै सिक्छन्, र त्यसैगरी संस्थाहरू पनि तिनलाई निर्माण गर्ने र टिकाइराख्ने मानिसहरूका माध्यमबाट सिक्छन्।

क्षमता कठिन सम्झौताहरूमा वार्ता गरेर, परियोजनाहरू पुर्‍याएर, संकट व्यवस्थापन गरेर, गलतबाट सिकेर र क्रमशः बढी जटिल जिम्मेवारीहरू लिँदै निर्माण हुन्छ। प्राविधिक सीपहरू महत्त्वपूर्ण हुन्छन्, तर प्रोत्साहन, विश्वास, निरन्तरता, कार्य गर्ने अधिकार र सोच्ने तथा प्रयोग गर्ने समय पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।

त्यसैगरी, विकासशील देशहरूलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न, नयाँ प्रविधिहरू अपनाउन र परिवर्तनशील बजारहरूप्रति प्रतिक्रिया दिन सक्षम फर्महरूको आवश्यकता हुन्छ। जब सार्वजनिक र निजी क्षेत्रले एक-अर्कालाई बलियो बनाउँछन्, तब विकास सफल हुन्छ।

कुनै पनि देशले यी क्षमताहरू रातारात विकास गर्दैनन्। यी कठिन परिस्थितिहरूसँग बारम्बारको सामना गरेर प्राप्त हुन्छन्। बारबाडोसले हालै आफ्नो प्रमुख माछापालन अधिकारी (कर्मचारी) गुमाएको छ । र उनले रूपान्तरण गर्न मद्दत गरेको क्षेत्रभरि उनको निधनको पीडा अझै महसुस गरिँदैछ।

उनी प्रायः प्रत्येक माछा मार्ने व्यक्तिलाई नामै काडेर चिन्थीन्, फ्लीटलाई आधुनिकीकरण गर्ने प्रविधिहरू भित्र्याइन्, र युवा प्रतिभाहरूलाई आकर्षित गर्न संघर्ष गरिरहेको समुदायको विश्वास जितिन्। उनका योगदानहरू केवल प्राविधिक थिएनन्। उनले दशकौँदेखि सञ्चित ज्ञान, सम्बन्ध, विवेक र विश्वसनीयता पनि प्रदान गरेकी थिइन्।

साना राज्यहरूमा संस्थागत स्मृति प्रायः यसरी नै काम गर्छ। प्रणालीहरूमा समाहित हुनुअघि विशेषज्ञता मानिसहरूमा नै निहित हुन्छ, र यदि मुख्य व्यक्तिहरू टाढा भए वा बितिगए भने, देशको सम्पूर्ण विकास एजेन्डा पछाडि धकेलिन सक्छ। प्रतिभाको प्रवर्द्धन गर्नुको अतिरिक्त, विकासशील देशहरूले यो पनि सुनिश्चित गर्नुपर्छ कि ज्ञान, सम्बन्ध र अनुभव व्यक्तिगत सम्पत्तिको सट्टा संस्थागत सम्पत्ति बनोस्।

यही सिद्धान्त बाह्य समर्थनमा पनि लागू हुन्छ। जब विकास साझेदारीले देशको आफ्नै लागि नतिजा दिने क्षमतालाई बलियो बनाउँछ, तब ती सबैभन्दा प्रभावकारी हुन्छन्। सरकारहरूले संस्थागत शक्तिलाई केवल सुधारको उप-उत्पादकको रूपमा लिनु हुँदैन। उनीहरूले यसलाई राजनीतिक चक्र र कर्मचारी परिवर्तनहरूमा पनि निरन्तरता कायम राख्न सक्षम संस्थाहरूमा निहित एक रणनीतिक उद्देश्य बनाउनुपर्छ।

अवश्य पनि, क्षमताहरूमा जोड दिँदा सुलभ वित्त, प्रविधिको पहुँच, वा स्रोत-सम्पन्न देशहरूलाई कच्चा पदार्थ निर्यात मात्र गर्न नभई प्रशोधन, निर्माण र नवाचार गर्न, जसबाट रोजगारी सिर्जना होस्, सीप विकास होस् र स्वदेशमै धेरै मूल्य (भ्याल्यू एड) कायम रहोस् भन्ने बनाउने व्यापार प्रणालीको महत्त्वलाई कम गर्दैन।

स्वायत्ततालाई त्यो फराकिलो प्रणालीबाट अलग गर्न सकिँदैन जसमा यो अभ्यास गरिन्छ । महत्त्वपूर्ण संरचनात्मक बाधाहरू त अझै बाँकी नै छन्।

तर यस्तो समयमा जब वैश्विक एजेन्डा सम्मेलनहरू, शिखर सम्मेलनहरू, विज्ञप्तिहरू र नयाँ पहलहरूको एक स्थिर चक्रद्वारा बढ्दो रूपमा परिभाषित भइरहेको छ, तब एक कडा प्रश्न सोध्नका लागि पछि हट्नु सार्थक हुन्छ: “के देशहरू वास्तवमै निर्णय गर्न, नतिजा दिन र आफ्नै बाटो निर्धारण गर्न राम्रोसँग सक्षम हुँदैछन्?”

'ब्रिजटाउन इनिसिएटिभ' की निर्देशक तथा बार्बाडोसको प्रधानमन्त्री कार्यालयमा जलवायु उत्थानशीलतासम्बन्धी विशेष सल्लाहकार पेपुकाये बार्डोइल यसअघि डोमिनिकाको 'क्लाइमेट रेजिलियन्स एक्जिक्युसन एजेन्सी'की संस्थापक प्रमुख कार्यकारी अधिकृत थिइन्। याे लेख "प्राेजेक्ट सिन्डिकेट"बाट साभार गरिएकाे हाे ।