चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्र बनाउँदै सरकार, आपूर्ति र मूल्य नियन्त्रणमा कस्तो छ तयारी ?
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको अधिकारलाई प्राथमिकता दिँदै सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै लगेको छ ।
सरकार गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चिततामा केन्द्रित छ । बजारमा मूल्य वृद्धि र आपूर्तिमा असहजता आउन नदिनको अनुगमनलाई तिव्रता दिएको हो ।
विशेषगरि चाडपर्वका समयमा उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा सुनिश्चित गर्न सरकारले सरोकारवाला संघसँग छलफल र समन्वयलाई तीव्र बनाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागले हालैका पछिल्ला दुई महिनामा ६५० भन्दा बढी व्यवसायिक अनुगमन गरेको छ । सो अवधिमा १२६ वटा उद्योग र व्यवसायलाई कारबाही गरिएको छ । यो साउनदेखि भदौँ २० सम्मको विवरण हो । ती उद्योग तथा व्यवसायलाई ८० लाख ६५ हजार रुपैयाँ जरिवाना गरिएको विभाले जनाएको छ ।
विभागका अनुसार सो अवधिमा २२० व्यवसायीलाई कागजातसहित उपस्थित हुन भनिएको थियो भने ३ सय ४ व्यवसायलाई सामान्य निर्देशन दिइएको थियो ।
सरकारले खाद्य पदार्थको विषादी र मिसावट नियन्त्रण गर्न सम्बन्धित विभागलाई विशेष निर्देशन दिएको छ । अनुगमनका क्रममा, गैरकानुनी गतिविधि, गुणस्तरहीन वस्तु र मूल्य नियन्त्रणमा कमजोरी पाइएका व्यवसायलाई कारबाही गरिएको छ ।
यसैबिच उपभोक्ता संरक्षण परिषदको गत भदौ ११ गते बुधवारको बैठकमा पनि बजार तह निर्धारण गर्ने, वस्तु तथा सेवाको मूल्य मापदण्ड तय गर्ने र सुधारका लागि निजी क्षेत्र र सरोकारवालासँग मिलेर समितिको गठन गर्ने निर्णय भएको छ । उक्त समितिले छिट्टै प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।
चाडपर्व नजिकिदै गर्दा सरकार आपूर्ति व्यवस्थापनमा कुनै अवरोध नआओस् भन्ने सुनिश्चित गर्न सरोकारवाला संघसंग नियमित छलफल गर्दैछ ।
आपूर्ति व्यवस्थापनमा सुधारका लागि केन्द्रिय बजार अनुगमन समितिले बिल–बिजक प्रणालीमा सुधार, एमआरपी अनिवार्य बनाउने, उपभोग्य अवधि उल्लेख गर्ने लगायतका निर्णयहरु गरिसकेको छ । यस्तै, चाडपर्वमा यात्रुको सहज आवागमन सुनिश्चित गर्न सार्वजनिक यातायातलाई प्रभावकारी बनाउने कार्यहरू पनि अघि बढाइरहेका छन्।
सरकारले उपभोक्ता शिक्षा र सचेतना कार्यक्रमलाई संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, बजार अनुगमन समितिलाई अझ प्रभावकारी बनाउन र प्रचलित कानुनलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।













