सूचीकृत कम्पनीलाई वित्तीय विवरण बुझाउन नेप्सेले तोक्यो समयसीमा
काठमाडौं । सूचीकृत कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई वित्तीय विवरण बुझाउने पर्ने समयसीमा तोकिएको छ ।
कम्पनीहरुले विभिन्न प्रकारका सूचना तथा जानकारीहरुले तोकिएकै समयभित्र अनिवार्य रुपमा गर्नुपर्ने भएको छ ।
पारदर्शिता र लगानीकर्ताको हित सुनिश्चिताका लागि नेप्सेले उपलब्ध गराएको एनओटीसएस लगइन (अनलाइन माध्यम) मार्फत विभिन्न जानकरी गराउनुपर्नेछ । कम्पनीहरुले आफ्नो लेखापरीक्षण भएको वित्तीय विवरण, त्रैमासिक प्रतिवेदन र प्रति सेयर आम्दानी, मूल्य आय अनुापत लगायतका जानकारीहरु बुझाउनुपर्नेछ ।
नेप्सेका अनुसार कम्पनीहरुले लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आव समाप्त भएको ५ महिनाभित्र उपलब्ध गराउनुपर्नेछ । प्रतिसेयर आम्दानी, मूल्य आय अनुपात, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, प्रतिसेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्वन्धी विवरण सहितको त्रैमासिक प्रतिवेदन त्रैमास सकिएको तीस दिनभित्र अनिवार्य रुपमा बुझाउनुपर्नेछ ।
यस्तै, नगद लाभांश, बोनस सेयर, हकप्रद सेयर वा थप सेयर निष्कासन सम्वन्धी निर्णय हुने वित्तिकै संचालक समितिको बैठक बसेको समय समेत उल्लेख गरि उपलब्ध गराउनुपर्नेछ । यसमा आर्थिक वर्ष तथा दाखिला खारेज बन्द मिति, अनुपात तथा सेयर कित्ता वा रकम समेत खुलाउनुपर्नेछ ।
सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यसको विषयको सूचना तुरुन्त दिनुपर्ने, १० करोड वा सो भन्दा माथिको सम्पत्ति खरिद वा बिक्री सम्बन्ध्ीको निर्णय लगायतको जानकारी गराउनुपर्नेछ ।













