खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि भदौ ३१ गतेसम्म थप
काठमाडाैं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ। अब लगानीकर्ताहरूले भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम १ कित्ता शेयरको आधारमा नयाँ १ कित्ता अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गरिरहेको छ।
यसअनुसार, कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ, जसको कुल रकम ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबर हुन्छ।
यस हकप्रद शेयर निष्कासनका लागि कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो। सोअनुसार, असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य छन्।
यसअघि तोकिएको अन्तिम आवेदन दिने मिति भदौ २३ गतेसम्म भए पनि अब यसलाई भदौ ३१ गतेसम्म लम्ब्याइएको छ।















