११ श्रावण २०८३, सोमबार

सरकार छाड्न कांग्रेसमाथि दबाब, के आजको क्याबिनेट ‘अन्तिम’ होला ?



काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले तत्काल सरकार छाड्न पार्टी नेतृत्वमाथि दबाब सिर्जना गरेको छ । यसले आज साँझ ६ बजेका लागि डाकिएको मन्त्री परिषद बैठक नै ‘देशका प्रमुख दुई दलको सहकार्य हुने अन्तिम मौका त बन्दै छैन भन्ने प्रश्न पनि उब्जिएको छ ।

गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने माग दिउँसैदेखि गरिरहेका उनीहरुले अब पार्टी सरकारबार बाहिरिनु पर्ने धारणामा दबाब बढाउन थालेको हो ।

कलिलो उमेरका किशोर किशोरी र युवाले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्दा राज्य दमनबाट ठूलो रक्तपात भएको छ ।

यो समाचार तयार पार्दासम्म सुरक्षाकर्मीको गोली लागेर १७ जनाको मृत्यु भइसकेको छ भने कयौँ मानिस घाइते भएका छन् । राज्यको यस्तो दमनका विरुद्ध नेपाली कांग्रेसमा पनि चर्को विरेध सुरु भएको छ ।

नेपाल विद्यार्थी संघकी नेता एलिजा ढकाल, व्रितान्त खनाल, धर्मराज शाही लगायतका नेताहरुले कांग्रेस तत्काल सरकारबाट बाहिरिनु पर्ने माग राखेका छन् । ढकालले प्रधानमन्त्री ओलीलाई तानाशाहीको संज्ञा दिँदै कांग्रेस सरकारबाट बाहिरिनुपर्ने बताएकी छिन् ।

उनले एउटा भवनको पर्खालसँग सयौँ नागरिकको जीवन साट्न खोज्ने गृहमन्त्री रमेश लेखक पनि प्रधानमन्त्री केपी शर्मा ओलीको खास मतियार भएको आरोप लगाएकी छिन् । उनले ‘नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्ने र रगतको धब्बा लागेको सरकारबाट कांग्रेस तुरुन्त बाहिरिनुपर्ने’ माग राखकी छन् ।

नेताहरुले आफ्नो दल सरकारबाट तत्काल बाहिर नआए कांग्रेसभित्रै विद्रोह गर्ने धम्की दिन थालेका छन् । उनीहरुले भविष्यमा देश चलाउने पुस्तामाथि भएको बर्बर दमनको सशक्त विरोध गर्न थालेका छन् ।

पार्टी नेतृत्व कुनै एक दल वा एक व्यक्तिको ‘दास’ बनेर सरकारमा ‘टाँसिएको’ आरोप .थुप्रै कार्यकर्ताले विगतदेखि नै लगाउँदै आएका थिए । सोमबारको उक्त घटनाले परिस्थिति नियन्त्रण बाहिर जानसक्ने देखिएपछि कांग्रेस ‘सडक’को पक्षमा उभिनु पर्ने आवाज चर्किएको छ ।

विगतमा पनि ठूला आन्दोलनहरुको नेतृत्व गर्दै आएको उक्त दल अब नयाँ पुस्ताको यस अभियानमा सहभागि हुन तत्पर देखिएको छ । नेताहरुले यति भयङ्कर जनसंहार पश्चात् अब युवा पुस्ताको आन्दोलनमा आफूहरु पनि मिसिने अभिमत राख्न थालेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले आफ्नो सामाजिक सञ्जालमा गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन् । उनले लेखेका छन्, ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्‍यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्‍यो । युवाहरुको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।’

तर दलका युवा पुस्ताभने अब ‘नरोकिने’ मुडमा पुगेका छन् । यो समय सरकारका लागि साँच्चै जटील अवस्थामा पुर्याउने संकेतहरु देखिएका छन् ।