११ श्रावण २०८३, सोमबार

जेनजी प्रदर्शनकारी सिंहदरबार भित्र प्रवेश, मन्त्रालयमा तोडफोड



काठमाडौं । राजधानी काठमाडौंमा जारी जेनजी आन्दोलन चुलिँदै जाँदा प्रदर्शनकारीहरू सिंहदरबार भित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक रूपमा प्रदर्शनमा उत्रिएका उनीहरूले गेट तोडेर सिंहदरबार प्रवेश गरेका हुन् ।

देशको कार्यपालिका, संसद र प्रशासनिक मुख्यालय रहेको सिंहदरबारमा प्रदर्शनकारीको प्रवेशसँगै राजधानीमा सुरक्षा जोखिम अत्यधिक बढेको छ । यसअघि सोमबार १९ जनाको ज्यान गएको प्रदर्शन आज पनि काठमाडौंसहित देशका ठूला शहरहरूमा व्यापक रूपमा फैलिएको छ ।

प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका निवास, पार्टी कार्यालय र प्रहरी इकाइहरूमा निरन्तर ढुंगामुढा र आगजनी गरिरहेका छन् । स्थिति नियन्त्रणबाहिर जान थालेपछि देशका मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानतर्फ सारिएको छ ।