११ श्रावण २०८३, सोमबार

सुन्धारामा युवा समूहबीच झडप, नेतृत्वमा असहमति



काठमाडौं । अन्तरिम सरकार गठनको बहस चुलिंदै जाँदा राजधानीको सुन्धारा क्षेत्रमा फरक–फरक युवा समूहहरूबीच झडप भएको छ ।

जेनजी आन्दोलनपछिको अवस्था र सरकारविहीन परिस्थितिमा नेपाली सेनाले नेतृत्व चयनका लागि युवा प्रतिनिधिसँग संवाद गर्न थालेपछि समूहहरूबीच आपसी टकराव चर्किएको हो ।

बुधबार सैनिक मुख्यालय जंगीअड्डा अगाडि नेपाली सेनाले माइकिङमार्फत युवाहरूलाई आफ्नो ‘लिडर’को नाम र सम्पर्क बुझाउन भनेको थियो । बिहीबार बिहान ती समूहहरू आफ्ना सिफारिससहित उपस्थित हुँदा नेतृत्वमा एकमत नहुँदा विवाद उत्पन्न भएको हो ।

अन्तरिम प्रधानमन्त्रीका लागि शुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङ जस्ता नामहरू अघि सार्दै फरक समूहहरू आ–आफ्नै अडानमा अडिग रहेका छन् ।

सैनिक मुख्यालय परिसरमा भिड बढ्न नदिन सुरक्षाकर्मी तैनाथ गरिएपछि युवाहरू सुन्धारातर्फ सरेका थिए । त्यहीँ विवाद चर्किएर झडपको अवस्था बनेको हो ।