राष्ट्रपति पौडेलको अपिल : ‘माग सम्बोधनमा सक्रिय छौं, सबै पक्ष संयमित बनौं’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समस्याको समाधान खोज्न संवैधानिक दायरामा रही प्रयास जारी रहेको बताएका छन् ।
देशमा जारी राजनीतिक संकट र आन्दोलनका बीच बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।
आन्दोलनकारी नागरिकका माग सम्बोधन गर्न छिटोभन्दा छिटो समाधानको खोजी भइरहेको जनाएका छन् ।
राष्ट्रपतिले भनेका छन्,‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र लोकतन्त्र तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा म निरन्तर विचार विमर्श एवं प्रयासमा छु।’
उनले सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै शान्ति सुव्यवस्था कायम गर्न सहयोग पुर्याउन अपिल गरेका छन् ।














