निषेधाज्ञा र कर्फ्यू खुकुलो, विस्तारै सामान्य बन्दै उपत्यकामा जनजीवन
काठमाडौं । उपत्यकामा जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यू खुकुलो पारिएसँगै जनजीवनमा क्रमश: सहजता देखिन थालेको हो ।
नेपाली सेनाले आज बिहानदेखि बेलुकीसम्मका लागि केही समयावधिमा आवतजावत गर्न छुट दिँदै निषेधाज्ञामा केही खुकुलो बनाएको छ ।

आजदेखि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा यथावत् रहे पनि अत्यावश्यक सामान किनमेल, धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन साथै कर्मचारीलाई कार्यालय आवतजावत गर्न बिहान ६ देखि ११ र बेलुका ५ देखि ७ बजेसम्मको समय छुट्याइएको छ ।
यसले उपत्यकामा दैनिक गतिविधि विस्तारै गति लिन थालेको देखिएको छ । सडकमा सार्वजनिक सवारीसाधन केही हदसम्म सञ्चालनमा आउन थालेका छन् ।
पसल, बजार तथा अन्य सेवा केन्द्रहरू पनि तोकिएको समयसीमा अनुसार खुल्न थालेका छन् । सुरक्षाकर्मीहरू भने ठाउँठाउँमा तैनाथ भएर नियम पालना गराइरहेका छन् ।













