१२ कार्तिक २०८३, बिहिबार

गलत सूचना नफैलाउन सेनाको आग्रह, आधिकारिक स्रोतमा भर पर्न सुझाव



काठमाडौं । हालको संवेदनशील अवस्थामा नेपाली सेनाले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिरहेका भ्रामक र आधारहीन सूचनाहरूमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत एक विज्ञप्ति जारी गर्दै सेनाले यस्तो गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण गराएको हो । सेनाका अनुसार पछिल्लो समय विभिन्न टिप्पणी, विश्लेषण र धारणाहरू सेनासँग जोडेर प्रचार गरिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘नेपाली सेनाले आफ्ना सबै गतिविधि र धारणा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत पारदर्शी ढंगले सार्वजनिक गर्दै आएको छ ।’

सेनाले यस्ता भ्रामक सूचनाबाट टाढा रहनु नै अहिलेको परिस्थिति अनुरूप सचेत र जिम्मेवार नागरिकको भूमिका भएको जनाएको छ । साथै, सेना सम्बन्धी कुनै जानकारी आवश्यक परेमा जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने स्पष्ट उल्लेख गरिएको छ ।