नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री, को हुन् सुशीला कार्की ?
काठमाडौं । मुलुकको राजनीतिक उथलपुथल र सामाजिक आन्दोलनले बिथोलिएको नेपालको नेतृत्वमा आज नयाँ युग सुरु हुँदैछ ।
इतिहासमै पहिलोपटक देशले महिला प्रधानमन्त्री पाएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।
नेपालको न्यायिक र राजनीतिक इतिहासमा एक प्रेरणादायक व्यक्तित्वका रूपमा स्थापित कार्कीले पहिलो महिला प्रधानन्यायाधीशका रूपमा नयाँ ढोका खोलेकी थिइन् ।
अब उनी कार्यकारी नेतृत्वमा पनि पहिलो महिला बनेर समृद्धि र समानताको नयाँ अध्याय लेख्न तयार छिन् ।न्यायिक क्षेत्रमै आ फ्नो इमानदार र हक्की स्वभावका कारण चर्चित कार्कीलाई यो पटक मुलुकको नेतृत्वको जिम्मेवारी सुम्पिएको छ ।
सामाजिक सञ्जाल बन्दविरुद्ध उठेका जेनजी आन्दोलनले देशको तीनवटै अंगलाई तहसनहस पार्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु परेको थियो । प्रधानमन्त्रीको राजीनामापछि प्रधानसेनापति लगायत विभिन्न पक्षहरूको सहभागितामा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए ।
को हुन् सुशीला कार्की ?
भोजपुरको शंखपुरमा जन्मिएकी कार्कीले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिक विज्ञानमा स्नातकोत्तर गरेको छन् भने त्यसपछि कानुनको अध्ययन गरेकी छन् ।
उनी वकालतबाट न्यायिक क्षेत्रमा प्रवेश गरिन् । करिब दुई दशक लामो सेवा पश्चात २०७३ साल वैशाख ११ गते नेपालको सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश नियुक्त भइन् ।
उनको न्यायिक यात्रा साहस, इमानदारी र निष्पक्षताले भरिएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता देखाउँदै उनले भ्रष्टाचारमाथि कडा फैसला दिइन् र मानवअधिकार, सुशासन तथा राजनीतिक हस्तक्षेपविरुद्ध निर्णायक भूमिका खेलेकी छन् ।
कार्कीको कार्यकाल छोटो भएता पनि उनको प्रभाव गहिरो रह्यो। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख विरुद्ध निर्णय गरेर न्यायिक इतिहासमै महत्वपूर्ण भूमिका निभाएकी छन् । साथै, उनले राजनीतिक दबाब र हस्तक्षेपविरुद्ध दृढ भएर न्यायपालिकाको स्वतन्त्रता कायम राखिन् ।
उनमाथि महाभियोग दर्ता गरिए पनि उनी पुनः सर्वोच्च अदालतमा फर्किन् र अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी ग¥यो । यो घटनाले उनको न्यायप्रियता र निर्भीकता झल्काउँछ ।
अबको बाटो र नेतृत्व
सोच र संस्कारमा नयाँ युगको आगमनसँगै सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रुपमा मुलुकलाई आगामी निर्वाचनसम्म स्थिरता र समृद्धितर्फ लैजान भूमिका सम्हालेकी छन् ।
उनको नेतृत्वमा भएको मन्त्रिपरिषद्ले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिने विश्वास छ । उनको नेतृत्वमा अब मुलुक संक्रमणकालीन अवस्थाबाट बाहिर निस्कने आशा छ ।
नेपालको पहिलो महिला प्रधानमन्त्री मात्र नभई न्यायपालिका र कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला बनेकी कार्कीले महिलाहरूका लागि सम्भावनाको नयाँ ढोका खोलिदिएकी छन् । कार्कीले जेनजी आन्दोलनका कारण भत्किएका संरचनालाई पुनस्र्थापना गर्दै मुलुकलाई संक्रमणकालबाट निकाल्ने नेतृत्व सम्हालेकि हुन् ।













