७ श्रावण २०८३, बिहिबार

अब कहिले खुल्छ सेयर बजार ? यसो भन्छन् बोर्ड अध्यक्ष श्रेष्ठ



काठमाडौं । जेनजी आन्दोलनपछि जनजीवन सामान्य अवस्थामा फर्किएको भए पनि सेयर बजार खुल्ने कि नखुल्ने भन्ने विषयमा अन्यौल कायमै रहेको छ ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भदौ २९ देखि असोज २ गतेसम्म बजार बन्द राख्ने निर्णय गरेको थियो ।

तर, अहिले जनजीवन सामान्य भएको र स्थिति पनि सुधारिएको देखिएपछि बजार खोल्ने वा नखोल्ने विषयमा चासोको बिषय बनेको छ । लगानीकर्ताहरूको पनि प्रमुख चासो भनेको सेयर बजार खुल्ने कि नखुल्ने भन्ने नै हो ।

असोज २ गतेसम्म बजार बन्द राख्ने भनिए पनि लगानीकर्ताहरूले अब छिट्टै निर्णय लिनुपर्ने पक्षमा जोड दिएका छन् । जनजीवन सामान्य भएपनि लगानीकर्ताहरूको चासो भने बजारको भविष्यको अवस्थाबारे अझै अन्यौलमा छ ।

यता, प्रदर्शनपछि स्थिति सामान्य भइसकेको भएता पनि बजार खोल्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेप्से अझै देखिएका छन् । बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले भने,‘प्राविधिक रूपमा कारोबार खोल्न कुनै समस्या छैन, तर बजार खुलाउने निर्णय कस्तो हुने भन्ने कुरा पर्खनुपर्नेछ ।’

उनका अनुसार हिजो अर्थात् भदौ २९ गते आइतबार पनि बोर्ड र नेप्सेबी बीच छलफल भएको थियो । छलफलमा कारोबार खोल्ने बारे प्राविधिक कुनै समस्याहरू नभएको जनाइएको छ ।

तर, बजार अनुकूल कस्तो हुनेछ भनेर हेरेर निर्णय लिइने अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कारोबार खुला हुने नहुने विषय भोलिसम्म निश्चित हुनेछ ।

‘बजार खुला गर्ने किन नगर्ने विषयमा अन्यौल नै रहेको छ । यसबारे भोलिसम्म निश्चित निर्णय हुनेछ’, उनले भने,‘यसअघि असोज २ गतेसम्म कारोबार बन्द हुने निर्णय भएको थियो । अहिले अन्य क्षेत्रहरु पुरानै लयमा फर्किको अवस्था छ । जनजीवन पनि सामान्य बन्दै गएको छ । अब कारोबार खुला गर्ने विषयमा भोलिसम्म थाहा हुनेछ ।’


प्रतिक्रिया दिनुहोस्