असोजका लागि नयाँ ब्याजदर सार्वजनिकः ९ बैंकले घटाउँदा २ ले बढाए, कुनको कति ?
काठमाडाैं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिइने औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.११ प्रतिशत घटेको देखिएको छ।
भदौ महिनामा ५.५७७ प्रतिशतविन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ।
यस्तै संस्थागत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर अधिकतम ब्याजदर ३.९६३ प्रतिशत रहेकोमा असोजमा घटेर ३.८७४५ प्रतिशतमा झरेको छ।
असाेजका लागि २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यस्तै बाँकी २ ले बढाएका छन् ।
भदौ महिनाको तुलनामा असोज महिनाका लागि प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएको हो। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दु घटाएको छ भने कुमारी बैंकले ०.२ प्रतिशतविन्दु घटाएको छ।
असोज महिनाका लागि दुई बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। असाेजमा लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले क्रमश ०.२५ प्रतिशतविन्दु र ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका हुन्।
बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। प्रभु बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लाेबल आइएमई बैंक, एनएमबी बैंक र हिमालयन बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको व्याजदर स्थिर राखेका छन् ।













