१२ कार्तिक २०८३, बिहिबार

पर्यटन मन्त्रीको लागि हान अध्यक्ष शाहको नाम चर्चामा !



काठमाडौं । नेपाल पर्यटन उद्योगका एक प्रमुख नेता र होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहको नाम अहिले पर्यटन मन्त्रीको रूपमा चर्चामा आएको छ ।

जेनजी आन्दोलनपछि बनेको अन्तिम सरकारमा शाहको नाम पर्यटन मन्त्रीको रुपमा चर्चामा छ । अन्तिम सरकारको नेतृत्वमा शुशिला कार्कीले गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आइतबार रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृह तथा कानुनमन्त्री र कुलमान घिसिङलाई ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेकी छन् । अब उनले थप मन्त्रीमण्डल गठन गरि काम गर्ने तयारीमा छन् । यस्तो बेला पर्यटन मन्त्रालयको जिम्मेवारी भने शाह दिन सक्ने बजारमा चर्चा सुरु भएको छ ।

पर्यटन क्षेत्रको विकास र सुधारमा तीन दशकभन्दा बढीको अनुभव भएका शाहले आफ्नो कार्यकालमा नेपाली संस्कृति, परम्परा र स्थानीय सम्पदाको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएका छन् ।

कोभिड–१९ महामारीको समयमा, जब पर्यटन क्षेत्र गम्भीर संकटमा परेको थियो । शाहले महत्वपूर्ण नेतृत्वद्वारा हजारौं रोजगारी बचाउन र उद्योगको पुन:स्थापनामा प्रमुख भूमिका खेलेका थिए । उनका प्रयासले पर्यटन उद्योगको पुनर्निर्माण र आर्थिक पुनरुत्थानमा ठूलो मद्दत पुगेको थियो ।

उनले समावेशी र दिगो पर्यटन नीतिका लागि आफूलाई प्रतिबद्ध रहेको बताएका छन । पर्यटनलाई नेपालको आर्थिक विकासको एक प्रमुख आधारको रूपमा हेर्ने आफ्नो दृष्टिकोण स्पष्ट गरेका छन ।

उनको नेतृत्वमा, हानले पर्यटन उद्योगको भविष्यमा सुधार ल्याउन थुप्रै पहल गरेको छ । उनले नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, पर्यटनलाई स्थानीय समुदायसँग जोड्ने र संस्कृति तथा परम्परालाई संरक्षण गर्ने दिशा तय गरेका छन् ।
शाहसँग पर्यटनको गहिरो ज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र सुधारको स्पष्ट दृष्टिकोण भएकोले केही शुभेच्छुकहरूले उनको नाम पर्यटन मन्त्रीको रूपमा अघि बढाएका छन् ।

नेपालको संस्कृति र पर्यटन उद्योगलाई नयाँ दिशा दिने दृढ इच्छाशक्ति भएका शाहले अहिले देशको पर्यटन मन्त्रालयमा जनमुखी र अनुभवी नेतृत्वको आवश्यकता बताएको छन् । पर्यटन क्षेत्रको भविष्यमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो विश्वास व्यक्त गरेका छन् ।

नेपालको पर्यटन क्षेत्रलाई अझ बढी समावेशी र दिगो बनाउन आवश्यक रहेको उनको भनाई छ । जसले सबै तहका मानिसहरूको जीवनस्तर सुधार गर्न मद्दत पुर्याउनेछ । यसका लागि सरकारले पर्यटन नीतिहरूमा सुधार र नयाँ दृष्टिकोण अपनाउनुपर्ने उनको तर्क छ ।