एसवाई प्यानलकाे आईपीओ असोज ७ गतेदेखि बिक्रि खुला हुने, क-कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीयवासीहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ।
यसअघि भदौ २९ गतेदेखि आईपीओ निष्कासनको तयारी गरिएको भए पनि विषम परिस्थितिका कारण मिति सारिएको हो।
कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्कासन गर्न पाउने अनुमति पाएको छ। त्यसअनुसार, २ लाख ६१ हजार ६२९ कित्ता शेयर (२ प्रतिशत) चितवनको रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका स्थानीयवासीका लागि छुट्याइएको छ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सर्वसाधारण भागको १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ९२ कित्ता शेयर छुट्याइएको छ। साथै, कम्पनीका कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरिएको छ।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।













