जीर्ण आयोजना ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्न निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले लामो समयदेखि अलपत्र रहेका ठूला विकास आयोजना अब जसकोसुकै संरक्षणमा भए पनि अघि नबढे ठेक्का तोडिने चेतावनी दिएका छन् ।
मन्त्री घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई काम नगर्ने आयोजनाको सूची तुरुन्त पेश गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘अब अनुहार हेरेर आयोजना रोक्न पाइँदैन, निर्णय गरेर अघि बढ्छौं ।’ उनका अनुसार दर्जनौं सडक र पुल आयोजना, सुनकोशी–मरिण बहुउद्देश्यीय आयोजना लगायतका महत्वपूर्ण परियोजनाहरू वर्षौंदेखि अलपत्र छन् ।
त्यस्तै, संसद भवन निर्माण आगामी पुसभित्रै सक्नुपर्ने स्पष्ट निर्देशन दिँदै उनले ढिलाइ सह्य नहुने बताएका छन् । २०७६ मा सुरु भएको भवनको म्याद पाँच पटक थपिसकिएको छ भने हालसम्म ८६ प्रतिशत भौतिक प्रगति भएको छ । साथै, मन्त्री घिसिङले भ्रष्टाचार र अनियमितीलाई कडाइका साथ कारबाही गरिने बताएका छन् । ‘एक रुपैयाँको अनियमिता भए पनि जिम्मेवार उम्कन पाउने छैन’ उनले भने ।













