राष्ट्रपतिको आह्वान : ‘पुनर्निर्माण, सुशासन र न्यायलाई अबको एजेन्डा बनाऔं’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न अस्थिर परिस्थितिमा प्रतिनिधिसभाबाट सरकार गठन गर्ने बाटो बन्द भएपछि आम सहमतिमा अन्तरिम सरकार गठन गरिएको स्पष्ट पारेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार आयोजित चियापान समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर जनप्रतिनिधिमार्फत सत्ताको हस्तान्तरण गरिने बताए ।
‘प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन सम्भव नभएपछि यो कदम चालिएको हो’, उनले भने,‘अब सबै मिलेर निर्वाचन सम्पन्न गर्नतर्फ लाग्नुपर्छ ।’ उनले नयाँ जनादेशबाट लोकतन्त्र अझ सुदृढ हुने विश्वास व्यक्त गरे । यसका साथै राष्ट्रको पुनर्निर्माण, सुशासन, रोजगारी, र सामाजिक न्यायलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचार र बेथिति अन्त्यको मागप्रति संकेत गर्दै उनले त्यसलाई गम्भीरतापूर्वक आत्मसात गर्न आग्रह गरेका छन् । ‘देश फेरि परिवर्तनको नयाँ बाटोतिर लागेको छ,” उनले भने, “अब द्वन्द्व होइन, सहकार्य र सहमतिमा अगाडि बढौं ।’ चियापान समारोहमा राजनीतिक दलका नेताहरूसँगै जेनजी प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।













