बीमा प्राधिकरणमा नेतृत्वको अस्थिरता : नीति निर्माणदेखि कार्यान्वयनसम्म अन्योल, कर्मचारीको ध्यानाकर्षण
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा पटक–पटक नेतृत्व परिवर्तन हुँदा समग्र क्षेत्र प्रभावित भएको भन्दै कर्मचारीहरूले स्थायित्वको माग गरेका छन् ।
नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियन र संगठनले संयुक्त ध्यानाकर्षणपत्र जारी गरेका छन् । एक वर्षभित्र चार–पाँच पटक अध्यक्ष फेरिँदा नीति निर्माणदेखि कार्यान्वयनसम्म अन्योल बढेको विज्ञप्तिमा उल्लेख छ ।
बीम ऐन २०७९ ले अध्यक्षको नियुक्ति र पदावधिबारे स्पष्ट व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण भएको उल्लेख छ ।
‘वित्तीय सुरक्षाको मेरुदण्ड मानिने बिमा क्षेत्रमा यस्तो अस्थिरता रहनुले नकारात्मक सन्देश दिन्छ’, ध्यानाकर्षणपत्रमा उल्लेख छ ।हालको संवेदनशील परिस्थितिमा बीमा क्षेत्रले अर्थतन्त्र पुनरुत्थानमा भूमिका खेल्नुपर्ने बेला नियामक निकायमै अन्योल हुनु गम्भीर भएको भन्दै तत्काल समाधानको माग गरेका छन् ।













