कार्की नेतृत्वमा आठ सदस्यीय क्याबिनेट, पाँच नयाँ मन्त्रीहरूको शपथ सोमबार
काठमाडौं । पूर्वप्रधानन्यायाधीशबाट देशको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद विस्तार गरेकी छन् । उनले आठ सदस्यीय क्याबिनेट तयार गरेकी हुन् ।
जेनजी आन्दोलनको दबाबपछि बनेको अन्तरिम सरकारलाई पूर्णता दिन कार्कीले क्रमश: दुई चरणमा विभिन्न मन्त्रीहरूलाई समावेश गरेकी हुन्।
पहिलो चरणमा प्रधानमन्त्री कार्कीले तीन नयाँ अनुहारलाई सरकारमा ल्याएकी छन् । गत भदौ ३० गते सोमबार पूर्व राजश्वसचिव रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्ति गरिएको छ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानून तथा संसदीय मामिला पाएका ओमप्रकाश अर्याल नियुक्त भएका छन् । यी तीनै जना मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । हाल उनीहरु आ–आफ्नो मन्त्रालयको भूमिका काम कारबाही अगाडी बढाइसकेका छन् ।
ऊर्जा क्षेत्रमा सफल कार्यकालसहित चर्चित नाम बनेका घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाका कानूनी सल्लाहकारका रूपमा सक्रिय थिए भने अर्थमन्त्री खनाल अनुभवसंपन्न पूर्वसचिव हुन ।
आफ्नो मन्त्रिमण्डललाई विस्तार दिनका लागि प्रधानमन्त्री कार्कीले दोस्रो चरणमा थप पाँच मन्त्रीको नाम सिफारिस गरेकी छन् । आइतार (असोज ५ गते) बसेको मन्त्रिपरिषदको बैठकले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्र, आविष्कारक एवं वैज्ञानिक महावीर पुन र राज्य पुनर्संरचना आयोगका पूर्व संयोजक डा. मदन परियारलाई मन्त्रीमा सिफारिस गरेर क्याबिनेटको आधार तयार गरेकी छन् ।
पूर्वन्यायाधीश सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी दिने गरी मन्त्री सिफारिस गरेकी छिन् । सिन्हाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । त्यस्तै, अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् । यता, पत्रकार खरेललाई भने सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा सिफारिस गरेकी छिन् । यी पाँच जनाको नामा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाइएको छ । उनीहरुको सपथ भने भोलि अर्थात् असोज ६ गते सोमबार हुनेछ ।
२४ भदौमा जेनजी पुस्ताको उग्र आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति पौडेलले सर्वसम्मत प्रस्तावका आधारमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
प्रधानमन्त्री बनेको छोटो समयमै कार्कीले विभिन्न पेशागत पृष्ठभूमिका व्यक्तित्वलाई समेट्दै आठ सदस्यीय क्याबिनेटलाई पूर्णता दिएकी छिन् । अब मन्त्रालयगत कार्यविभाजन र सरकारको प्राथमिकताबारे निकट भविष्यमा निर्णय हुने छ ।
ङ













