११ श्रावण २०८३, सोमबार

अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता



काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत महामहिम डीन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनाल र अमेरिकी राजदुतबीच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको छ ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमवाट निजी क्षेत्रको मनोवल माथि उठाउनु रहेको बताए ।

अमेरिकी राजदुतले हालैको घटनामा ज्यान गुमाउने परिवार प्रति समवेदना तथा सहानुभुति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गरे । साथै, अमेरिकी राजदुतले एमसीसीको सहयोगमा संचालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिवद्धता आवश्यक रहेको बताए।

अर्थमन्त्री खनालले उक्त परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फवाट गर्नुपर्ने कार्यहरूमा ढिलाई नहुने जानकारी दिए ।

खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको तर्फवाट हुँदै आइरहेको निरन्तर सहयोगको उच्च सराहना गर्दै भविष्यमा समेत यस प्रकारको सहयोग प्राप्त भइरहने आशा समेत व्यक्त गरे।

यस्तै अर्थ सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाका सह सचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी राजदुतावासका पदाधिकारीहरुको समेत उपस्थति रहेको थियो।