११ श्रावण २०८३, सोमबार

अर्थमन्त्री खनालसँग भारतीय र चिनियाँ राजदूतको छुट्टाछुट्टै भेटवार्ता



काठमाडाैं । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत महामहिम चेङ्ग सोङ्गले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसंग छुट्टाछुटै भेटवार्ता गरेका छन् ।

भारतीय राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसंगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याए ।

उक्त अवसरमा भारतीय राजदुतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुकबीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरु नेपालको साथमा रहेको बताए ।

भारतीय सहयोगमा संचालन भएका विकास आयोजना र कार्यक्रमहरुमा तिब्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको समेत उनले बताए ।

उक्त अवसरमा नेपाल भारत बीचको व्यापार सहजीकरणका लागि दुबै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भएके थियो ।

त्यसैगरी चीनका राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरे ।

अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए।

साथै उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदुतलाई अनुरोध समेत गरे।

उक्त भेटको अवसरमा महामहिम राजदुतले चीनले नेपाली जनताको छनौटलाई सँधै सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताए।

साथै चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरु सन्तोषजनक रुपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तर्क्रिया गरिने कुरा समेत जानकारी दिए ।