सकसपूर्ण दशैं यात्राः देशभर ५ सडक पूर्ण रुपमा बन्द, कुन-कुन सडक हुँदैछ एकतर्फी सञ्चालन ?
काठमाडौं । नेपालीहरूको महान चाड विजयादशमी नजिकिँदै गर्दा राजधानी काठमाडौंबाट घर फर्किन चाहने यात्रुहरूको चाप दैनिक बढ्दो छ । तर, वर्षाका कारण राजमार्गहरूको अवस्था राम्रो नहुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन्। आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने चारवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन्।
कोशी प्रदेशमा भोटखोला गा.पा. ४ र मकालु गा.पा. ३ अन्तर्गत काेशी राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्। यस्तै बागमती प्रदेशमा गोसाईकुण्ड गा.पा. २ अन्तर्गत नेपाल र चीन नाका जोड्ने पुल र इच्छाकामना गाउपालिका ५ तुइन खाेला अन्तर्गतकाे नारायणगढ मुग्लिन सडक खण्ड पूर्णरूपमा बन्द छ ।
यस्तै भुमे गाउँपालिका ४ काँडाबगर अन्तर्गतकाे मध्य पहाडी लाेकमार्ग पनि पूर्ण रूपमा बन्द छ ।
यता रसुवाकाे उत्तरगया गाउँपालिका ०५ नाैबिसे अन्तर्गतकाे गल्छि त्रिशुलीदेखि मैलुङ स्याफ्रु सडक, बागलुङ गा.पा. १३ कालाखेलाकाे कालिगण्डकी करिडाेर, नवलपरासी पूर्वकाे विनय त्रिवेणाी गाउँपालिका २ काे विश्वकर्मा मन्दिर र पैसठ्ठि माेड अन्तर्गतका पूर्वपश्चिम राजमार्ग एकतर्फि रूपमा सञ्चालन भइरहेका छन् ।
यसपटकको अवरोधले काठमाण्डौको बाहिरका शहरहरूमा यात्रा गर्ने यात्रुहरूलाई निकै समस्या परेको छ। नेपाल प्रहरीको यातायात शाखाले सडक अवरोध र पहिरोको जानकारी दिँदै यात्रुहरूलाई सतर्क रहन र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ। सम्बन्धित स्थानमा सडक मर्मत कार्य भइरहेको छ भने, आगामी केही घण्टामा सडक खुला हुने अपेक्षा गरिएको छ।













