११ श्रावण २०८३, सोमबार

बेघर हुँदै रास्वपा, घरपेटीले भने- ‘तीन महिनाभित्र घर खाली गर्नू’



काठमाडौं । एकातिर लामो समयसम्मको भाडा पनि नदिने, अर्कातिर घर ओगटेर कुन दिन अर्कोथरी आन्दोदनकारीले ध्वस्त पारिदिने हो भन्ने अनुमान पनि गर्न नसकिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन छिट्टै खाली गर्न घरधनीले आग्रह गरेका छन् ।

यससँगै ‘नयाँ राजनीतिक शक्ति’का रुपमा उदाउने महान् अपेक्षा बोकेर आएको दल रास्वपा स्वयम् भने ‘बेघर’ हुने भएको छ । यद्यपि, कार्यालय सार्ने वा उक्त घर खालि गर्ने विषयमा रास्वपाले अहिलेसम्म कुनै औपचारिक जानकारी दिएको छैन ।

काठमाडौँको बालाजु बनस्थलीमा भरतमणि देवकोटाको स्वामित्वको घर रास्वपाले भाडामा लिएर केन्द्रीय कार्यालय बनाएको थियो । भित्तामा नीलो रङ्ग पोतेर ‘घण्टी घर’ भनेर ब्राण्डिङ गरिएको उक्त घरको भाड भने लामो समयदेखि नबुझाएको पाइएको छ ।

पार्टी सभापती रवि लामिछाने प्रहरी अनुसन्धानमा तानिएपछि उक्त दल आन्तरिक विवाद, खिचातानी र लेनदेनको अपारदर्शितामा फसेको भनेर भित्रभित्रै विरोध सुरु भइरहेका बेला घरपेटीले यस्तो कदम चालेका हुन् । यसो विचार गर्दा अब पनि लामै समय घर भाडा नउठ्ने, बरु घर नै राजनीतिक प्रतिशोधको शिकार बन्नसक्ने जोखिम देखिएपछि उक्त पार्टीबाट धेरै आशा गरेका घरपेटी देवकोटाले ‘बोल्ड निर्णय’ लिएका हुन् ।

अनलाइनखबरले प्रकाशित गरेको समाचार अनुसार उनले विगत १० महिनादेखिको घर भाडा त पाएका छैनन् नै, उल्टै पार्टीलाई सापटी भनेर दिएको ठूलो रकम समेत फिर्ता पाउन सकेका छैनन् । मासिक ३ लाख ५० हजार रुपैयाँका दरले घरभाडा मात्रै ३५ लाख भइसकेको छ ।

पार्टीलाई ‘सापटी’ भनेर दिएको पैसा र घरको बदलामा रवि लामिछानेको दलले देवकोटालाई एक थान पद दिएको थियो, ‘अनुशासन आयोगको प्रमुख’ । त्यो पनि ‘सेरेमोनियल’ पद थियो । उनी अमेरिका भएका कारण कार्यवाहक प्रमुख भनेर अर्को व्यक्तिलाई चयन गरिएको छ ।

यसबाहेक रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटालाई विज्ञ सल्लाहकारको भूमिकामा सिंहदरबार पनि लगेका थिए । तर रवि सरकारबाट हटेर हिरासतमा पुगेसँगै देवकोटाको ‘पैसाको हिसाबकिताब’ पनि गडबड हुन थालेको हो ।

उनले आफू पार्टीमा सहभागी हुनु र आर्थिक कारोबार गर्नु भिन्न विषय भएको बताएका छन् । तर नेपालका राजनीतिक दलहरुलाई दिइएको सापटी र उनीहरुसँग लिनुपर्ने दाबी फगत ‘चन्दा’मा रुपान्तरण हुनुअधिको ‘अकाउण्टिङ’ मात्रै हो भन्ने विषय बुझ्न देवकोटालाई अझै केही समय लाग्ने देखिएको छ ।