अर्थमन्त्री खनालले गरे दातृ निकायका प्रतिनिधिहरूसित छलफल
काठमाडैं । अर्थमन्त्री रामेश्वर खनालले स्थानीय दातृ निकायका प्रमुखहरुबीच छलफल गरेका छन्।
नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा विभिन्न देशका नेपाल स्थित राजदूतहरु, नेपाल स्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुका प्रमुख तथा प्रतिनिधिहरु, मिशनका प्रतिनिधिहरु र बहुपक्षीय तथा द्धिपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हे ।
आज अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री खनालले विकास साझेदारहरुले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउदै आएकोमा धन्यवाद दिदै वर्तमान सरकारका तत्कालका प्राथमिकताहरु प्रकाश पारे।
साथै, नेपालमा हाल भएको परिवर्तन पश्चात गठित अन्तरिम सरकार युवाहरुको चाहना अनुरुप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिवद्ध रहेको बताए ।
आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षती भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितब्ययीताका माध्यमवाट पुनर्निमाण अघि बढाईने र आर्थिक सुधारका कार्यक्रम लाई तीव्रता दिईने उल्लेख गरे।
कार्यक्रममा विकास साझेदारहरुको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधिहरु, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो भनाई राख्दै नेपालको वर्तमान अवस्था प्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रम प्रति सहमति जनाए।
विकास साझेदारहरुले चालू रहेका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम संचालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधै तयार रहेको उल्लेख गरे।













