अब जेनजी आन्दोलनबाट क्षति भएका व्यवसायीले गाडी किन्दा ८० प्रतिशत ऋण पाउने
काठमाडौं । जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग र व्यवसायिक प्रतिष्ठानलाई सवारीसाधन प्रतिस्थापन गर्न थप सहज हुने भएको छ ।
अब व्यावसायिक प्रयोजनमा प्रयोग हुने सवारी तथा ढुवानीका साधनमा कर्जा अनुपात ८० प्रतिशतसम्म पुर्याउन मिल्ने व्यवस्था भएको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो सुविधा ल्याएको हो ।
संशोधित व्यवस्था अनुसार आन्दोलनका कारण क्षति पुगेका व्यावसायिक सवारीसाधनहरू प्रतिस्थापन गर्दा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले सवारीको कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन सक्नेछन् ।
यसअघि विद्युतीय सवारीसाधन र व्यक्तिगत प्रयोजनका सवारीहरूका लागि मात्र अधिकतम ६० प्रतिशत ऋण मूल्य अनुपातको सीमा तोकिएको थियो । तर, आन्दोलनपछिको असाधारण अवस्थालाई मध्यनजर गर्दै विशेष छुट दिइएको केन्द्रिय बैंकले जनाएको छ ।













