११ श्रावण २०८३, सोमबार

काठमाडौं उपत्यकामा सवारी क्यु : ट्राफिक व्यवस्थापनमा चुनौती, बाढी र पहिरोले थप दबाब

काठमाडौं उपत्यकामा सवारी क्यु : ट्राफिक व्यवस्थापनमा चुनौती, बाढी र पहिरोले थप दबाब



काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख स्थानहरूमा यतिबेला सवारी साधनको लामो लाइन (क्यु) देख्न पाइन्छ । शहिदगेट, नागस्थान, न्युरोडगेट र नयाँबसपार्क गेटमा सवारी साधनको संख्या बढ्दा क्युको समस्या उत्पन्न भएको हो ।

अहिले यी स्थानहरूमा ट्राफिक प्रहरीले आवागमनलाई सहज बनाउन काम गरिरहेको भएता पनि सवारी चालकलाई केहि समय पालोमा रोकिनुपर्ने अवस्था देखिएको छ । यो मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले उपलब्ध गराएको दिउँसो ३ बजेसम्मको अपडेट हो ।

अर्को प्रमुख नाका नागढुंगा क्षेत्रमा पनि सवारी साधनको समस्या थप गम्भीर बनेको छ । यहाँको चिसापानी क्षेत्रमा सवारी साधन बिग्रिएर एक लेनमा आलोपालो चलिरहेका छन्, जसले गर्दा नागढुंगा नाकामा आवागमनमा अतिरिक्त समय लागिरहेको छ ।
यसैबीच, रसुवागढी (रसुवाको गोसाइकुण्ड गाउँपालिका २) मा बाढीको कारण नेपाल–चीन नाका जोड्ने पुलमा क्षति पुगेको छ। यसको कारण सवारी आवागमन अवरुद्ध भएको छ ।

बाढीका कारण कोशी राजमार्ग र अन्य मुख्य मार्गहरूमा पनि सवारी आवागमनमा अवरोध पुगेको छ । संखुवासभाको भोटखोला गाउँपालिका ४ स्थित बरुणखोलामा ह्युम पाइप बगाउँदा कोशी राजमार्ग अवरुद्ध भएको छ भने मकालु गाउँपालिका ३ एकुवा मा पहिरो खस्दा सवारी साधनको आवागमन रोकिएको छ ।

बर्षातको समयमा बाढी र पहिरोको जोखिम हुने भएकाले सुरक्षा ध्यानमा राख्दै वि.पि. राजमार्गमा यात्रुवाहक सवारी साधनको आवागमन बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ ।

चाडपर्वको लागि यात्रुहरूको सहज आवागमनको दृष्टिकोणले ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका प्रमुख स्थानहरूमा यात्रु सहायता कक्षहरू स्थापना गरेको छ । नयाँबसपार्क, माछापोखरी, बाफल, कलंकी, नागढुंगा, फर्पिङ, बल्खु, चापागाउँ, जगाती, कोटेश्वर, गौशाला, साँखु र टोखामा यात्रु सहायता कक्षहरु रहेका छन् ।