बीमा प्राधिकरणका नयाँ अध्यक्ष शर्माले दाबी भुक्तानीलाई झन्झटरहित बनाउने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् ।
यसअघि, आजै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल असोज ९ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष शर्मालाई जिम्मेवारी दिएको हो ।
अध्यक्ष शर्मा हाल अर्थ मन्त्रालय अन्तर्गत कार्यरत हुन् ।
आज प्राधिकरणमा कार्यभार सम्हाल्दै प्राधिकरणका अध्यक्ष शर्माले हालको कठिन अवस्थामा बीमा सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउँदै बीमा दाबी भुक्तानीलाई छिटोछरितो र प्रभावकारी तुल्याउनु आवश्यक भएको बताए ।
अध्यक्ष शर्माले भने, “बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानी प्रक्रियालाई झन्झटरहित बनाएर समयमैं दाबी भुक्तानी दिनुपर्छ, यसो भएमा बीमाप्रतिको विश्वास बढ्छ र बीमाको दायरा बढ्दै जान्छ, बीमाको दायरा बढ्दै गएपछि लागत पनि कम हुँदै जान्छ ।”
अध्यक्ष शर्माले सही नियतका साथ गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न प्राधिकरणका कर्मचारीहरूलाई निर्देशन दिए ।













