शून्यमा पुगेको अटो बजार चलायमान बनाउने दशैं–तिहार स्किम, ग्राहक तान्न कुन ब्रान्डको कस्तो अफर ?
शून्यमा पुगेको अटो बजार चलायमान बनाउने दशैं–तिहार स्किम, ग्राहक तान्न कुन ब्रान्डको कस्तो अफर ?
काठमाडौं । आगोले जलाएको सपना, धुवाँले ढाकेको बजार र निराशाले च्यापेको मनोबल । गत भदौ २३ र ४ गतेको जेनजी आन्दोलनले नेपाली अटो उद्योगलाई यस्तै त्रासदीको अन्धकारमा धकेलेको थियो । दशैं–तिहारको पूर्वसन्ध्यामा थापाथलीका शोरुमहरू खरानी बने, लाखौंको लगानी क्षणमै ध्वस्त भयो । हजारौं ग्राहकको उत्साह माटोमा मिल्यो ।
तर, यो कहरले व्यवसायीको हिम्मत र अठोट भने रोक्न सकेन । बरु यही पीडालाई अवसरमा बदल्दै उनीहरूले फेरि बजारलाई जागाउने साहसी अभियान सुरु गरेका छन् । दसैं–तिहार नजिकिँदै गर्दा गाडी वितरक कम्पनीहरूले नयाँ स्किम र धमाकेदार अफरको झिल्को देखाउँदै सुस्त अटो बजारमा फेरि उत्साह भर्ने कोशिस गरिरहेका छन् ।
आगोको खरानी माथिबाट पुनर्जन्म भएको जस्तो हुने गरि व्यवसायीहरूले नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरको फाइनान्स, नि:शुल्क बीमा, सडक कर छुट, आकर्षक एक्सचेन्ज बोनस र विदेश भ्रमणसम्मका योजना अघि सारेका छन् । जेनजी आन्दोलनले शून्यमा झारिएको बजारलाई चलायमान बनाउने आशा र अपेक्षासहित ल्याइएका यी स्किमहरूले केवल नयाँ गाडी खरिदकर्तालाई मात्र नभई अटो उद्योगको भविष्यलाई समेत पुनर्जीवन दिने संकेत दिएका छन् ।
नयाँ सवारी खरिद गर्ने तयारीमा रहेका उपभोक्ताको उत्साह झन् बढेको छ । दशैं–तिहार जस्ता ठूला चाडपर्वलाई अटो उद्योगले वर्षकै सबैभन्दा महत्वपूर्ण बिक्री सिजनका रूपमा लिने गर्छ । वर्षभर कुल बिक्री हुने गाडीमध्ये झन्डै ६० प्रतिशत यही सिजनमा बिक्छन् । यही मौकामा वितरक कम्पनीहरूले ग्राहकको बजेट र चाहना लक्षित फरक–फरक स्किम ल्याइरहेका छन् । अब हेरौं ग्राहक तान कुन कम्पनीको कस्तो अफर ?
हुन्डाईको दसैं–तिहार १० गुणा उपहार, ८ लाख रुपैयाँसम्म नगद छुट
लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका मोडल अनुसार ८ लाख रुपैयाँसम्म नगद छुटको अफर गरेको छ । साथै स्क्र्याच कार्डमार्फत थप १० लाख रुपैयाँसम्मको बोनस र २० हजार लोयल्टी बोनस पनि उपलब्ध छ । एक वर्षको बीमा र सडक कर कम्पनीले नै तिरिदिने सुविधा पनि योजना भित्र छ ।
जिकरमा १५ लाखसम्मको मेगा डिस्काउन्ट
एसपीजी अटोमोबाइलले ओमोडा र जिकर ब्रान्डका गाडीमा ‘फेस्टिभ राइड’ अफर ल्याएको छ । ओमोडा ईभी खरिदमा ७ लाखसम्म नगद छुट पाइनेछ भने जिकर मोडलमा १५ लाख रुपैयाँसम्मको छुटको घोषणा गरिएको छ । यस अफरमा एक्सचेन्ज बोनस, ७ किलोवाट चार्जर र एक वर्षको अटो प्लस बीमा समेत नि:शुल्क पाउन सकिनेछ ।
सुजुकी पर्वोत्सव: ६ लाख नगद छुट र एक तोला सुन उपहार
सीजी मोटोकर्पले ल्याएको ‘सुजुकी पर्वोत्सव’ स्किमअन्तर्गत सुजुकीका कारमा ६ लाख रुपैयाँसम्म नगद छुट, २ लाखसम्म एक्सचेन्ज बोनस, १ वर्षको नि:शुल्क बीमा र ६ वर्षसम्मका लागि पीएमएस पाट्र्स नि:शुल्क जस्ता सुविधा छन् । अल्टो र सेलेरियो किन्नेले एक वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा कर्जा पाउनेछन्। साथै स्क्र्याच कार्डमार्फत १ लाख बराबरको थप छुट र १० जना भाग्यमानीलाई १ तोला सुन उपहारको व्यवस्था गरिएको छ ।
सिजी मोटर्सको ई–एक्ट्राअर्डेनरी अफर, ८ लाखको फाइदा उठाउने मौका
जिएसी आयोन र एक्सपेङका गाडीमा ८ लाख रुपैयाँसम्मको फाइदा दिने घोषणा गरिएको छ । ६.४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध हुने कम्पनीले जनाएको छ । ४८ घन्टाभित्र कर्जा स्वीकृतिमा ब्ल्याक एन्ड डेकरको भ्याकुम क्लिनर, कारवास र कफी मेसिन उपहार पनि पाउन सकिनेछ । यसका साथै एक वर्षको बीमा, सडक कर र दुईवटा चार्जर समेत स्किममा समावेश छ ।
एमजीको पाथ्स अफ स्माइल, ४ लाख कम मूल्यमा गाडी किन्न पाइने
पारामाउन्ट मोटर्सले एमजीका गाडीमा ४ लाख रुपैयाँसम्म नगद छुटको योजना ल्याएको छ । साथै एक्सचेन्ज बोनस, एक वर्षको बीमामा, सवारी कर र चार्जर जस्ता सुविधा पनि उपलब्ध छन् ।
एलएस अटोको फेस्टिभ अफर, नगदछुटदेखि विदेश भ्रमणसम्मको अवसर
नेक्सन भेन्चरले एलएस अटोको एलईभी १ खरिद गर्ने ग्राहकलाई नगद छुटसँगै १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ६.६ किलोवाटको चार्जर र १ वर्षको बीमा दिनेछ । थप रूपमा १० केजीको वासिङ मेसिन उपहार र बम्पर पुरस्कारमा सिंगापुर–मलेसिया ५ रात ६ दिनको नि:शुल्क भ्रमणको अवसर पनि छ ।
लिपमोटरको चार्डवाडको उमंग, ७ लाखसम्म नगद छुट
सांग्रिला मोटर्सले लिपमोटरको सी–१० मा ७ लाख रुपैयाँसम्म नगद छुटको घोषणा गरेको छ । बी–१० लाइफ भेरियन्टमा ५ लाख र डिजाइन भेरियन्टमा ३ लाखसम्म छुट पाउन सकिन्छ। खरिदकर्ताले ७ र २.२ किलोवाटका चार्जर, १ वर्षको बीमा र नि:शुल्क एसेसरिज पनि पाउनेछन् ।
स्कोडाको फेस्टिभ डिलाइट–२०८२, २० प्रतिशत डाउनपेमेन्टमै कर्जा सुविधा
स्कोडा नेपालले २० प्रतिशत डाउनपेमेन्टमा कर्जा सुविधा दिएको छ । कम्पनीका अनुसार गाडी खरिदमा ४ लाख रुपैयाँसम्म नगद छुट दिइएको छ । यसका साथै कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने अवसर दिने योजना ल्याएको छ ।
जिलीमा सुन र आइफोन उपहार, ४ लाख कम मूल्यै नयाँ गाडी
एलआरआर मोटर्सले जिली ग्यालेक्सी मोडलमा प्रो भेरियन्ट खरिदमा ३ लाख र म्याक्स भेरियन्टमा ४ लाख रुपैयाँ नगद छुटको घोषणा गरेको छ । साथै एक तोला सुन र आइफोन १६ प्रो म्याक्स उपहार स्वरूप उपलब्ध छ ।
होन्डाको ‘चंगा उड्छ फरर’, ४ लाख नगद छुट
स्याकार ट्रेडिङले होन्डा गाडीमा ४ लाखसम्म नगद छुटको स्किम ल्याएको छ। खरिदकर्ताले ५ वर्षसम्म नि:शुल्क सर्भिस, १ वर्षको बीमा र सडक कर पनि पाउनेछन्।
किया फेस्टिभ ड्राइभ
इन्टरकन्टिनेन्टल ट्रेडिङले किया गाडी खरिदमा विशेष फेस्टिभ डिस्काउन्ट, नगद छुट र १ वर्षको बीमा नि:शुल्क उपलब्ध गराएको छ ।













