दुई दशकभन्दा कम अवधिमा प्राइम बैंकले आफूलाई कसरी शीर्ष ५ को सूचीमा उभ्यायो ?
दुई दशकभन्दा कम अवधिमा प्राइम बैंकले आफूलाई कसरी शीर्ष ५ को सूचीमा उभ्यायो ?
काठमाडौँ । देशकै कान्छो वाणिज्य बैंक प्राइम कमर्शियलले शनिबार आफ्नो १९ औँ वार्षीकोत्सव मनाइरहेको छ । काठमाडौँ बासीको ‘खास बैंक’ भन्ने पहिचान बनाएको यो संस्था अब देशब्यापी नवप्रवर्तन र व्यावसायिक विकासको एक अभियान्ताजस्तै बनेको छ ।
आफ्ना सुन्दर १८ वर्ष पुरा गरी १९ वर्ष लाग्दैगर्दा बैंकसँग सम्झन लायक कयौँ सुन्दर अनुभवमात्रै छैनन्, उज्ज्वल भविष्यको मार्गचित्र पनि छ ।
आजभन्दा १९ वर्षअघि ७० करोड पूँजीबाट सुरु भएको बैंकसँग अहिले करीब २० अर्ब शेयर पूँजी छ । कर्जा तथा निक्षेप सुरुवाति वर्षमा ५ अर्ब थियो भने अहिले सवा २ खर्ब नाघेको छ । बैंकको आकार जति बढ्यो, जोखिम पनि त्यति नै बढ्छ । अप्ठेराहरु आइरहन्छन् । त्यसै अनुुसार हामीले आफूलाई पनि चुस्त पार्दै लानुपर्छ भन्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव मानन्धरमात्रै होइन, उनको पुरा टीम नै एकमत छ ।
मानन्धर स्वयंले पनि करीब दुई वर्षअघि सीईओको जिम्मेवारी लिएका थिए । त्यस बखत प्राइमको कर्जा १६३ अर्ब थियो । तर अहिले २२९ अर्ब पुगिसकेको छ । उनी व्यापार बढाउन ‘खप्पिस’ सीईओमध्ये हुन् । विगत तीन वर्षदेखि पुरा अर्थतन्त्र नै सुस्तताको भूमरीमा फसेको बेला समेत उनले व्यापारको रथलाई थाम्न दिएनन् र अनवरत कुदाइरहे ।
अप्ठेरो समयमा पनि कर्जा विस्तारलाई जोड दिएछि बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि अरु बैंकको जसरी ठूलो गिरावट देखिएन । पहिले पनि ८५–८६ प्रतिशतमा बसिरहेको बैंकको सीडी रेसियो अहिले पनि ८२ प्रतिशत हाराहारीमा छ । जुन ‘इन्डस्ट्रि एभरेज’ ७५ प्रतिशतभन्दा निकै बढी हो ।
कोभीडको बेलामा बैंकले केके र कस्तोकस्तो कर्जामा जोखिम हुने रहेछ भन्ने गज्जबको शिक्षा पाएको थियो । त्यसैकारण अहिलेको आर्थिक सुस्तताका बीच पनि बैंकलाई कर्जा जोखिम घटाउने उपायहरुको कार्यान्वयन गर्न र सँगसँगै कर्जा बृद्धि गर्न पनि सहयोग पुग्यो ।
बैंकसँग अहिले १३ लाख ग्राहक छन् । पछिल्लो दुई वर्षमा मात्रै ३ लाख हाराहारी ग्राहक आधार विस्तार भएको सीईओ मानन्धर बताउँछन् ।
बैंकले आम्दानीको स्रोत बढाउने पाटोहरुलाईं सक्रीय पार्ने र बलियो बनाउने कोसिस निरन्तर गरिरहेको छ । ब्याज आम्दानीमात्रै होइन, ग्यारेन्टी लगायतका अन्य स्रोतबाट पनि आम्दानी बढाउने रणनीति बैंकले लिएको छ ।
डिजिटल बैंकिङ पनि बैंकहरुले दिएको सुविधामात्रै होइन । त्यसबाट बैंकहरुको आम्दानी निकै राम्रो छ । प्राइमले यस्ता विषयमा पनि आफूलाई फौलाउँदै लगेको छ । त्यसरी दुई वर्षमा ५५ प्रतिशतभन्दा धेरै ‘अन्य आम्दानी’ बढेको छ ।
मानन्धरले सीईओको कुर्सी सम्हाल्नु अघि पनि प्राइम बैंकको वित्तीय स्वास्थ्य तुलनात्मक रुपमा राम्रै थियो । त्यसमा उनले थप ‘प्राण’ भरिरहेका छन् । बैंकहरुको सञ्चालन नाफाको बढोत्तरीमा प्राइम अग्रस्थानमै छ । मानन्धर आएपछि पनि उनले आफ्नो कार्यकालको पहिलो वर्षमै सञ्चालन नाफा १८ प्रतिशत बढाएका थिए । दोस्रो वर्षमा आउँदा यस्तो नाफा १५ प्रतिशत बढ्यो । जबकी बैैंकिङ क्षेत्रको औसत बृद्धिदर शून्यप्राय: रहेको छ ।
दुई वर्ष पहिले ६ अर्ब ३० करोड भएको सञ्चालन नाफा अहिले ८ अर्ब ६० करोड पुगेको छ । चालू आर्थिक वर्षमा बैंकले साढे ९ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्ने लक्ष्य अघि सारेको छ ।
अहिलेको विकट आर्थिक हालतमा पनि निष्कृय कर्जाको गाँठो फुकाउनेतिर धेरै नरुमल्लिइकन सञ्चालन नाफा बढाउने रणनीति बैंकले लियो । तत्कालका लागि यो नीति निकै ‘सफल’ देखिएको छ । यसो गर्दा २–३ अर्ब कर्जा डुब्ने अवस्था नै आयो भने पनि सञ्चालन नाफा ह्वात्त बढाउन सकेको खण्डमा त्यो कर्जाको पुनर्भरण गर्न सक्ने अवस्था हुन्छ ।
कतिपय व्यवसाय फेरि उठ्नै नसक्ने गरी थलिएका छन् भने तीनैलाई दपेटिरहन बैंकले ऊर्जा खर्च गर्नु हुँदैन भन्ने मान्यता मानन्धर राख्छन् । उनको यो सिकाइको जगचाहीँ धेरै वर्षअघि हाम्रा तीनवटै सरकारी स्वामित्वका बैंकहरु (राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक)लाई वित्तीय उद्धार गर्दाका बखत हासिल गरेको अनुभवमा आधारित छ ।
त्यसै बेला उनले खराब समयमा पनि गुणस्तरीय कर्जा विस्तार गर्नसक्ने संभावना हुन्छ र त्यसो गर्नु रणनीतिक रुपमा सही हुन्छ भन्ने सिकाइ उनले पाएका थिए । त्यही सिकाइको अनुशरण गर्दै अहिलेको विषम परिस्थितिमा पनि प्राइम बैंकलाई बजारकै उत्कृष्ट ‘पर्फरमर’मध्येको एक संस्थाका रुपमा उभ्याएका छन् ।
यही सिकाइले अरु प्रतिस्पर्धी बैंकहरुको सञ्चालन नाफा बढ्न नसकेको, कतिपयको त घटिरहेको अवस्थामा प्राइमले आफ्नो नाफा फराकिलो अन्तरले बढाएको छ ।
मानन्धरको बुझाइमा नेपालको बैंकिङ क्षेत्र चुनौतीको भूमरिमा फसेको कोभीड सुरुभएदेखि नै हो । अहिले पनि त्यही लहरो तन्किँदै गएको छ । तर अहिले पनि कतिपय व्यापारी व्यवसयीको कारोबार र उनीहरुको सम्पत्तीको गुणस्तर राम्रो हालतमा रहेको मानन्धर बताउँछन् । स्वपूँजीमा बलियो देखिएका व्यवसायी अहिले पनि सहज तवरमा देखिन्छन् । तर स्वपूँजी कम भएको र धेरैजसो लगानी बैंकको ऋणबाटै गरिएको व्यवसाय चाहीँ अहिले साँच्चैको समस्यामा फसेको उनको बुझाइ छ ।
यस्तो बेला ‘बैंकिङ क्षेत्रलाई चुनौती त छ, तर थेग्नै नसक्ने जोखिम पनि छैन’ भन्ने उनको मत छ । ‘कोभीडदेखि अहिलेसम्मको अवस्था हेर्ने हो भने करीब २५–३० प्रतिशत व्यवसायीलाई समस्या परेको छ । बाँकी ७५ प्रतिशतलाई यी गतिविधीले छोएकै छैन’, उनी भन्छन् । धेरै व्यवसायीको कि आम्दानी बलियो छ, कि पूँजी बलियो छ, कि कर्जाको भार निकै कम छ । कुल लगानीको २०–३० प्रतिशतमात्रै कर्जा लिएर काम गर्ने व्यवसायी पनि निकै धेरै भएको उनी बताउँछन् । त्यस्ता व्यवसायलाई अहिले ‘पेनिक’ अवस्थाबाट गुज्रनुपर्ने बाध्यता नभएको उनी ठान्छन् ।
त्यसैले अब बैंकले पनि व्यवसायीप्रतिको विस्वसनीयता, व्यवसायको संभावनाजस्ता विषयलाई पहिलेभन्दा कम प्राथमिकता दिनुपर्ने, बरु स्वपूँजीलाई नै ज्यादा महत्व दिनुपर्ने अवस्था आएको मानन्धरको बुझाइ छ । यसरी बैंकले आफ्नो लगानी रणनीतिलाई पनि क्रमश: बदल्दै लगेको उनको कुराबाट स्पष्ट हुन्छ ।
त्यसैले समय सापेक्ष रणनीति र कार्यनीतिमा बदलाव गर्दै अघि बढ्दा १८ वर्षमा बैंकले ठूलो सफलता हासिल गरेको छ । केही विकास बैंकलाई छाडेर यो बैंकले कुनै ठूला मर्जर गरेको छैन । त्यसैले कारोबारको आकारमा ज्यादा प्रतिस्पर्धा नभए पनि सबैभन्दा धेरै सञ्चालन नाफा आर्जन गर्ने पाँचौँ बैंक बन्नुले प्राइमको ‘इफिसियन्सी’लाई एक उदारहणीय र अनुष्करणीय बनाएको छ ।
खुद नाफा र वितरणयोग्य नाफामा पनि यो बैंक २० मध्ये शीर्ष ७ बैंकमै पर्दै आएको छ ।
नेपालमा जलविद्युत् आयोजनामा लगानी गर्न थाल्ने पायोनियर संस्था नै प्राइम बैंक भएको मानन्धर बताउँछन् । धेरै बैंकहरु अकमकाइरहेका बेला प्राइमले थालनी गरेको थियो । त्यसको परिणाम आज यो देश बिजुली निर्यात गर्ने हालतमा पुगिसकेको छ । प्राइमको इनिसियशनलाई साथ दिँदै नेपाल राष्ट्र बैंकले जलविद्युतलाई ‘निर्देशित कर्जा’को महत्वपूर्ण हिस्सा बनाइदियो । अहिले बैंकले १९ अर्बजति कर्जा जलविद्युत् क्षेत्रमा लगानी गरेको छ । भलै, पछिल्लो समय बैंकले जलविद्युतको तुलनामा सौर्य ऊर्जालाई ज्यादा प्राथमिकता दिन थालेको छ ।
बैंकले देशभर करीब २००० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको छ । बैंक खुलेको दोस्रो वर्षबाट लाभांश बाँड्न थालेको यो बैंकले दुई वर्ष अघिसम्म लगातार लाभांशको दर १५ प्रतिशतभन्दा घटाएन । अहिलेको आर्थिक समस्याले भने यो बैंकलाई लाभांशको आफ्नो पुरानो मानक कायम राख्न दिएन । तर बैंक अझै पनि फेरि पुरानै लयको लाभांश क्षमता हासिल गर्ने कोसिस भने गरिरहेको छ ।
‘सेयरधनीले राम्रो प्रतिफल पाइरहेका छन् । कर्मचारीहरु सन्तुष्ट छन् । सबै राम्रै भइरहेको छ’, मानन्धर आफ्नो बैंकको १९ औँ वार्षिकोत्सव दशैँको बीचमा परेकाले पनि खुब खुसी छन् ।













