यो सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको हो : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताको मतबाट आएको सरकार नभएको बताएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई आफूले बोलेका कुरा र गरेका काम बाहिर जनताको सामु ल्याउन चुनौती दिए । ‘मैले भनेका कुराहरू सो सरकारले हिम्मतका साथ जनतामा पुर्याओस्, बाहिर ल्याओस्’, उनले भने ।
उनले आफूले कहिल्यै छलछाम र षडयन्त्र नगरेको बताए । ‘जेनजी सरकार भनिने अहिलेको सरकार जो–संवैधानिक बाटोबाट, जनताको अभिमतबाट बनेको होइन, यो तोडफोड र आगजनीको माध्यमबाट बनेको हो’, उनले भने ।
उनले यो हा हुको सरकारलाई देश जिम्मा लगाएर आफू बाहिर नभाग्ने बताउनुभयो । आफूहरूले फेरी पनि देशलाई सुशासन र विकासको बाटोमा अघि बढाउने ओलीले बताए ।
सरकारको कर्तव्य नागरिकलाई सुरक्षा दिनु नै भएको भन्दै आफूलाई लक्षित धम्कीपूर्ण गतिविधि भइरहे पनि सरकारले उदासीनता देखाएको आरोप लगाए । सामाजिक सञ्जालमार्फत आफ्नै निजी घरको लोकेसन सार्वजनिक गरी ‘घर घेर्न जाऔँ’ भन्ने जस्ता गतिविधि भइरहे पनि सरकारले कुनै पहल नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे । ‘अहिले तपाईँहरूले सामाजिक सञ्जालमा हेर्नुभएको होला, केपी ओलीको घर लोकेट गरेर घर घेर्न जाऔँ भनेर देखाइएको छ, घर तोकिएको छ, सरकार के हेरेर बसेको छ ?’
अध्यक्ष ओलीले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने कुरा गरिरहेको तर कर्तव्यबोध नगरेको बताए । ‘सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु भनेको छ, तर सरकारको कर्तव्य के हुन्छ कि हुँदैन ? सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिन पर्छ कि पर्दैन ?’, उनले भने ।
उनले असुरक्षाको वातावरण सिर्जना गरेर अहिले सत्ता कब्जा गरिएको बताए । ‘असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतङ्क फिँजाएर सरकारमा पुग्ने, अनि अरूलाई सुरक्षा दिन्नँ भन्ने ?’, उनले प्रश्न गरे ।















