अर्थमन्त्री खनाल र जापानी राजदूतबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
काठमाडाैं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदुत महामहिम माइदा तोरुबीच भेटवार्ता भएको छ ।
आइतबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा अर्थमन्त्री खनाल र जापानी राजदुत बीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल=जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भयो।
उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए।
यस्तै उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना लगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर चौबाटो सुधार परियोजना र सिन्धुली सडक (बाढी प्रभावित) को आपतकालीन पुनर्स्थापना कार्यक्रम समेतका विविध विषयमा कुराकानी भयो।
उक्त वैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह-सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो।













