११ श्रावण २०८३, सोमबार

ठूलो कारोबारमा नगद प्रयोग नगर्न अर्थ मन्त्रालयको आग्रह

ठूलो कारोबारमा नगद प्रयोग नगर्न अर्थ मन्त्रालयको आग्रह



काठमाडौं । अर्थ मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी हुँदा नगद समेत जलेको वा जलेको अवस्थामा फेला परेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युतीय भुक्तानी प्रणालीलाई प्राथमिकता दिन सबैमा आग्रह गरेको हो।

मन्त्रालयका अनुसार सरकारले वस्तु तथा सेवा खरिद–बिक्री लगायतका कारोबार वित्तीय संस्था वा बैंकिङ प्रणालीमार्फत गर्ने व्यवस्था गर्दै आएको छ। अहिले विद्युतीय भुक्तानीमार्फत जुनसुकै परिमाणको कारोबार गर्न सकिने भएकाले ठूलो परिमाणमा नगद राखिराख्नुपर्ने आवश्यकता नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

अर्थ मन्त्रालयले प्रचलित कानुनबमोजिम आय आर्जन भएको र स्रोत खुलेको रकम जुनसुकै परिमाणमा आफूसँग वा अन्यत्र सुरक्षित राख्न सकिने तर स्रोत नखुलेको रकमलाई भने सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको जनाएको छ।

मन्त्रालयले विद्यमान कानुनअनुसार नगद कारोबार सम्बन्धी व्यवस्था यसप्रकार रहेको जानकारी गराएको छः

  • ठूलो कारोबारमा बैंकिङ प्रणाली अनिवार्य: कुनै व्यक्ति, फर्म वा संस्थाले एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु वा सेवाको खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बैंकिङ उपकरण प्रयोग गर्नुपर्ने।
  • नेपाल प्रवेश गर्दा विदेशी मुद्रा घोषणा: नेपाल भित्रिने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्म (भारतीय रुपैयाँ वा अन्य मुद्रामा सो बराबर) भन्सार घोषणा नगरी ल्याउन सक्नेछन्। तर सोभन्दा बढी रकम भित्र्याउन भने भन्सार घोषणा अनिवार्य हुनेछ।
  • विदेशी मुद्राको सीमा: नेपाली नागरिकले विदेश रोजगारी, व्यवसाय वा भ्रमण सन्दर्भमा प्राप्त वैध विदेशी मुद्रा मध्ये अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरसम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको।

मन्त्रालयले स्रोत नखुलेको नगद फेला परेमा प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाही गर्ने गरी सम्बन्धित निकायलाई सक्रिय बनाइएको स्पष्ट पारेको छ।