फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
काठमाडौं । फिलिपिन्समा मंगलबार राति ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको ज्यान गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार करिब राति १० बजे सेबु प्रान्तको बोगो सहर नजिकै पालोम्पोन क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले कैयौँ भवन भत्किएका छन्।
भूकम्प मंगलबार राति ९ः५० बजे, करिब ९० हजार मानिस बसोबास गर्ने उत्तरी टापुमा पर्ने बोगो सहर नजिक गएको थियो।
स्थानीय उद्धारकर्मीहरूले एएफपी समाचार संस्थालाई जनाएअनुसार, बोगोमा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। तीमध्ये तीनजनाको ज्यान पहिरोमा परेर गएको हो।
छिमेकी सान रेमिगियो नगरपालिकामा स्थानीय प्रहरीले पाँच जनाको मृत्यु पुष्टि गरेको छ भने ताबुएलान क्षेत्रमा पनि एक जनाको मृत्यु भएको जनाइएको छ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले भूकम्पपछिको क्षेत्रमा हालसम्म ३७९ परकम्प मापन गरिएको जानकारी दिएको छ।













