दशैंको टिका र आर्सीवादपछि आएको पैसा कहाँ लगानी गर्ने ?
दशैंको टिका र आर्सीवादपछि आएको पैसा कहाँ लगानी गर्ने ?
काठमाडौं । नेपाली हिन्दूहरूको महान् चाड दशैं आज विजया दशमीको रूप लिएर देशभर मनाइँदैछ । टिका र आर्शिवादका साथै दक्षिणा पाउने दिन भएकाले घरघरमा उत्साह चरम सीमा पुगेको छ ।
चहलपहल, खुशीयाली, रंगीन बजार, मिठो–मिठा परिकार र घर–घरमा टिका आर्शिवादको रौनक । यी सबैले दशैंलाई मात्र चाड होइन, नेपाली जीवनको विशिष्ट उत्सव बनाउँछ । वर्षमा एकपटक आउने यो पर्वले परिवारलाई एकत्रित गर्ने मात्र होइन, संस्कार, सम्मान र आशीर्वादको अनुभव पनि दिलाउँछ । दशैंको टिका र आर्शिवादका साथै आउने दक्षिणा, थोरै होस् वा धेरै । प्रत्येक नेपालीको हातमा स–सानो शक्ति झैं हुन्छ ।
धेरैको दृष्टिमा दक्षिणा केवल रमाइलोको पैसा हो, मिठो खाना खान, नयाँ लुगा किन्न वा चाडपर्व मनाउन खर्च गर्ने साधन मात्र । तर वास्तवमा, यो पैसा केवल खर्चको लागि नभएर भविष्य निर्माणको पहिला पाइला पनि बन्न सक्छ । आजको दक्षिणाले भोलिको सुरक्षा, लगानी र आर्थिक स्वतन्त्रताको बाटो खोल्न सक्छ । यदि हामीले त्यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्ने हो भने ।
हामीले आज यही ‘दशैंको दक्षिणा के लगानी गर्ने ? भन्ने प्रश्नलाई उत्तर दिने प्रयत्न गरेका छौां । कसरी थोरै रकमलाई बचत, बीमा, सेयर बजार वा साना–साना लगानीमा प्रयोग गरेर भविष्य सुरक्षित बनाउने ? कुन विकल्पले छोटो–दीर्घकालीन लाभ दिन सक्छ ? यी सबै कुरा विस्तृत, सरल र व्यावहारिक शैलीमा प्रस्तुत गरिएको छ ।
१. बैंक बचतमा साना रकम जम्मा गर्नुहोस्
दशैंको दक्षिणा प्राय: स–सानो रकम हुन्छ । तर, नियमित बचतका लागि पर्याप्त हुन्छ । धेरैले सोचे झैं ‘थोरै रकमको के काम ?’ भन्ने सोचले मात्र पैसा फाल्ने अवस्था सिर्जना हुन्छ ।
कसरी सुरु गर्ने ?
- आफ्नो नाममा बचत खाता खोल्नुहोस्,
- दशैंमा प्राप्त रकम त्यही खातामा जम्मा गर्नुहोस्,
- थोरै रकमलाई पनि नियमित रुपमा जोड्दै जानुहोस्,
सानो बचतको निरन्तरता दीर्घकालीन रूपमा ठूलो रकममा परिणत हुन्छ । यसरी जम्मा गरिएको पैसा आकस्मिक खर्च, शिक्षा, स्वास्थ्य वा ठूलो लगानीको तयारीमा काम लाग्न सक्छ ।
२. बीमा योजनामा लगानी
धेरै नेपालीलाई लाग्छ बीमा महँगो हुन्छ र ठूलो रकम चाहिन्छ । तर, सानो रकमबाट पनि जीवन, स्वास्थ्य र दुर्घटना बीमा गर्न सकिन्छ ।
सुझावहरू:
- आफ्नो अवस्था अनुसार जीवन बीमा वा स्वास्थ्य बीमा छनोट गर्नुहोस्,
- दशैंको दक्षिणालाई बीमा प्रिमियम भुक्तानीको सुरुवातमा प्रयोग गर्नुहोस्,
- किस्ताबन्दी सुविधा हुने योजनाले ठूलो भार नपर्ने बनाउँछ,
यसरी बीमा गर्दा आकस्मिक जोखिम, आकस्मिक स्वास्थ्य खर्च र पारिवारिक सुरक्षा सुनिश्चित गर्न सहयोग मिल्छ ।
३. सेयर बजारमा सानो लगानी
आज सेयर बजार केवल ठूला लगानीकर्ताका लागि मात्र होइन । स–सानो रकमबाट पनि बजारमा प्रवेश गर्न सकिन्छ ।
कसरी सुरु गर्ने ?
- दशैंपछि आउने कम्पनीका आइपीओ वा थोरै सेयर खरिद गरेर लगानी सुरु गर्नुहोस्,
- डिजिटल एप वा सेयर ब्रोकरमार्फत थोरै रकमबाट पनि सेयर खरिद सम्भव छ,
- १,००० रुपैयाँ जस्तो सानो रकमबाटै सुरुवात गर्न सकिन्छ
सुरुमा अध्ययन र सानो लगानीले जोखिम कम गर्न र दीर्घकालीन लाभ सुनिश्चित गर्न मद्दत गर्दछ ।
४. साना–साना वैकल्पिक लगानी
दशैंको दक्षिणालाई भविष्य निर्माणको दृष्टिले उपयोग गर्ने विभिन्न साना–साना तर प्रभावकारी विकल्पहरू:
- म्युचुअल फण्ड: स–सानो रकम पनि दीर्घकालीन लाभका लागि योगदान दिन सक्छ ।
- सरकारी बचत बन्ड: सुरक्षित तर स्थिर ब्याजदर पाउन सकिन्छ,
- स्मार्ट खर्च: अनावश्यक खर्च घटाएर बाँकी रकम लगानी वा बचतमा प्रयोग गर्नुहोस्,
- थोरै रकमको नियमित लगानीले भविष्यमा ठूलो रकम तयार पार्न सक्ने क्षमता राख्छ,













