ब्रोकर कमिशन र पूँजीगत लाभकर घटाउन तीव्र दबाब
काठमाडौँ । सेयरको कारोबारमा लाग्ने ब्रोकर (दलाल) कमिशन र पूँजीगत लाभकर घटाउन तीव्र दबाब आइरहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)का अधिकारीहरुले जानकारी दिएका छन् ।
सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यस अघि पूँजी बजारको सुधारका लागि सरकारले गठन गरेको समितिलाई उक्त विषयमा समेत विस्तृत अध्ययन गर्न भनेका थिए। उनले लगानीकर्ताको हित सुरक्षित हुने र बजारमा माग बढ्ने उपायहरुको खोजि गर्नुपर्ने बताए ।
एकातिर नयाँ कम्पनीहरुको आईपीओ ल्याउने विषयमा चेपुवामा परेको सेबोनले अर्कातिर माग बढाउन नसकेमा समस्या हुने अधिकारीहरुले बताएका छन् । बजारमा माग बढाउन नसकेसम्म लगानीकर्ताको सम्पत्ति जोखिमको घेरा बाहिर ल्याउन नसकिने भन्दै सेबोनले माग बढाउने उपायको खोजि थालेको हो ।
यसका लागि कारोबारलाई अझ सस्तो बनाउनु पनि एक उपाय भएको सेबोनका अधिकारीहरु बताउँछन् । कारोबार सस्तो भयो र कर कम लाग्ने भयो भने त्यसले माग बढाउन सघाउ पुग्ने अपेक्षा सेबोनको छ ।
यसअघि पनि सेयर बेच्दा नाफा भयो भने ५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो । तर केही वर्ष अघिमात्रै त्यस्तो व्यवस्थालाई बदलेर सेयर किनेको एक वर्षभन्दा कम समयमै विक्री गरेमा बढी लाभकर तिर्नुपर्ने प्रावधान लागू गरियो ।
अब धेरैजसो लगानीकर्ताले ७ प्रतिशत रहेको लाभकरलाई ५ प्रतिशतमा र ५ प्रतिशत रहेको करलाई ४ प्रतिशतमा झार्नुपर्ने सुझाव दिएका छन् । त्यस्तै, ब्रोकरले लिने कमिशन पनि घटाउनुपर्ने उनीहरुको भनाइ छ ।













