११ श्रावण २०८३, सोमबार

दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै

दशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा, दसैंको बिदाइ र तिहारको स्वागत गरिँदै



काठमाडौं । नेपालीहरूको महान् चाड दुर्गा पक्ष अर्थात् बडादसैं आज धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासहित समापन हुँदैछ।

कोजाग्रत पूर्णिमाका अवसरमा दशैंलाई विदा गरी देवी लक्ष्मीको स्वागतका साथ यो दिन मनाइँदैछ। रातभर जाग्राम बसेर महालक्ष्मीको आराधना गर्ने धार्मिक परम्परा अनुसार आजको दिनलाई विशेष मानिन्छ।

विश्वास अनुसार, आज राति जाग्राम बसेर पूजाआराधना गर्ने घरमा पृथ्वी भ्रमणमा निस्केकी देवी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ।

यस दिन बिहान दशैंघरका सम्पूर्ण फूल, प्रसाद र जमराका अवशेष नजिकैको नदी, तलाउ वा पोखरीजस्ता तीर्थस्थलमा विसर्जन गर्ने चलन छ।