११ श्रावण २०८३, सोमबार

नेपाली स्कुटर बजारमा होन्डाको दबदबा : टीभीएस र यामाहा कसरी प्रतिस्पर्धामा छन् ?

नेपाली स्कुटर बजारमा होन्डाको दबदबा : टीभीएस र यामाहा कसरी प्रतिस्पर्धामा छन् ?



काठमाडौं । नेपाली स्कुटर बजारमा पेट्रोलबाट चल्ने स्कुटरको प्रतिस्पर्धा दिनानुदिन बढिरहेको छ । पछिल्लो सात महिनामै साढे ४६ हजार बढी स्कुटर आयात भएका छन् । यसमा विभिन्न ब्रान्डहरुको आ–आफ्नै प्रतिस्पर्धा चलेको देखिन्छ ।

२०२५ को सुरुका सात महिना आयात भएका स्कुटरको तथ्याङ्कले यस्तो देखाएको हो ।

आयातको तथ्याङ्क हेर्दा होन्डा ब्राण्डले बजारमा आफ्नो दबदबा कायम राखेको छ । सन् २०२५ को जनवरीदेखि जुलाईसम्म ४६ हजार ६०५ युनिट स्कुटर आयात भएको देखिन्छ । सो अवधिमा होन्डाले मात्र २० हजार ५८३ युनिट ल्याइएको छ । कुल कुल बजारको ४४.१६ प्रतिशत प्रतिशत हुन आउँछ । योसँगै होन्डाले शीर्ष स्थान ओगट्न सफल भएको छ ।

नेपालमा होन्डा मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ हो । कम्पनीले होन्डा डिओ ११०, डिओ १२५ र होन्डा ग्राजिया स्कुटर बिक्री गर्दै आएको छ । यस वर्षको शुरूका तीन महिनामा टीभीएसले होन्डालाई अलि पछि धकेलेको थियो । तर, चौथो महिनादेखि फेरि होन्डाले बजारमा कमब्याक गरेको छ । विशेषगरी डिओ १२५ स्कुटर ग्राहकको रोजाइमा परेसँगै होन्डा फेरि मार्केट लिडर बन्न सफल भएको हो ।

दोश्रो स्थानमा टीभीएस मोटर्स रहेको छ । नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सात महिनामा १४ हजार २४० युनिट स्कुटर आयात गरेको छ । यो होन्डाको बिक्रीभन्दा करिब ६ हजार युनिट कम हो । टीभीएसको लोकप्रिय मोडलमा एनटर्क र जुपिटर पर्दछन् । विगतमा लगातार दुई वर्ष नेपालमा सर्वाधिक बिक्री हुने स्कुटरको ताज चुमेको टीभीएसको एनटर्कले पछिल्लो समयमा होन्डा डिओ १२५ र यामाहाको रेजेडआर १२५ सँग प्रतिस्पर्धामा केही कमी देखाएको छ । बजार हिस्सामा टीभीएसको योगदान ३०.५५ प्रतिशत रहेको छ ।

तेस्रो स्थानमा यामाहा रहेको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले सात महिनामा ९ हजार ७४५ युनिट स्कुटर ल्याएको छ । यसको बजार हिस्सा २०.९१ प्रतिशत रहेको छ । कम्पनीले फसिनो, रेजेडआर, एन म्याक्स र एरोक्स स्कुटर बिक्री गर्दै आएको छ ।

चौथो स्थानमा भेष्पा÷अप्रिलिया रहेको छ । डेल्टा अटोकर्पले सात महिनामा १ हजार ४० युनिट स्कुटर आयात गरेको छ । पाँचौं स्थानमा हिरो मोटरसाइकल÷स्कुटर रहेको छ, जसले ९७९ युनिट स्कुटर ल्याएको छ । कम्पनी सीजी मोटर्सले हिरो जुम स्कुटर नेपालमा बिक्री गर्दै आएको छ ।

त्यस्तै, फ्रेन्च ब्राण्ड प्युजोका केवल १८ युनिट स्कुटर जनवरीमै भित्रिएका थिए । तर, त्यसयता भने कुनै पनि थप स्कुटर आयात भएको देखिदैन ।

समग्रमा हेर्दा नेपाली स्कुटर बजारमा होन्डाको दबदबा स्पष्ट देखिएको छ । तर टीभीएस र यामाहा बीचको प्रतिस्पर्धा पनि तीव्र रहेको छ । उपभोक्ताको रोजाइ, नयाँ मोडलको प्रभाव र मूल्य नीति अनुसार आगामी महिनामा बजारको रूप फेरिन सक्ने उत्तिकै सम्भावना छ ।