किसानलाई मर्का पार्ने अर्को तनाविलो खबर, पूर्वी नेपालमा अलौँचीको मूल्य पोहोरभन्दा १० हजार सस्तो
काठमाडौँ । बाढी पहिरोको प्रकोपले मात्रै होइन, बजारको मूल्यले पनि यो साल नेपाली किसानलाई मर्कामा पारेको छ । पूर्वी नेपालको प्रमुख नगदे बालीमध्येको एक अलैँचीको मूल्य यो साल घटेको छ ।
पोहोर यही समयमा प्रतिमन (४० किलोग्राम) अलैँचीको भाउ ९० हजार रुपैयाँ रहेकोमा यो साल उच्च गिरावटपछि जम्मा ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
एक दशक अघिदेखि नै ओरालो लाग्न थालेको अलैँचीकोभाऊमा पोहोर साल केही सुधार भएको थियो । नेपालमा कालो सुन (ब्ल्याक गोल्ड) भनिने अलैँचीको मूल्य ओरालो लागेपछि किसानहरु मर्कामा परेका छन् ।
यही अलैँची पोहोर साल मूल्य चुलिएको बेलामा एक मनको १ लाख १० हजार रुपैयाँसम्म कारोबार भएको थियो । तर अहिले राम्रो ग्रेडिङ भएको अलैँची ८२ हजार र ग्रेडिङ नभएको अलैँची ८० हजारका दरले कारोबार भइरहेको छ ।
पूर्वी पहाडमा नेपालीले अलौँचीको खेति बढाए पनि यसको बजारिकरणमा भने उल्लेख्य सुधार ल्याउन सकिएको छैन । त्यसैले पुरानो सीमित बजारमा निर्भर हुँदा थोरैमात्रै उत्पादन बढ्दा पनि माग त्यस रुपमा बढ्न सकेको छैन । त्यसैले नेपाली अलौँचीको मूल्य पनि बढ्न नसकेको किसानहरुले बताएका छन् ।
पूर्वी पहाडमा उत्पादन हुने अलौँचीमध्ये ९५ प्रतिशतभन्दा बढी नेपाल बाहिर निर्यात हुने गरेको किसानहरुको अनुमान छ । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको ब्यापक उत्पादन हुने गरेको छ ।
नेपाली व्यवसायीले अलौँचीलाई तीन ग्रेडमा वर्गीकरण गरेर बेच्ने गरेका छन् । गुणस्तरका आधारमा हुने यस्तो वर्गीकरण अनुसार नै मूल्य पनि फरक पर्ने गर्छ ।













