७ श्रावण २०८३, बिहिबार

राष्ट्र बैंकले हटायो शेयर धितो कर्जामा भएको २५ करोडको सीमा



काठमाडाैं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ ।

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै राष्ट्र बैंकले यसअघि कायम गरिएको शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोड सिमा हटाएको हो ।

त्यस्तै, संगठित संस्थाको शेयर, डिवेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था पनि खुकुलाे पारेकाे छ ।

सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । यसअघि शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था थियो

बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्। धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको संगठित संस्थाको शेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त शेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न नपाईने व्यवस्था गरेको छ ।

यस्तै, यस अघिको खरीद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था भने हटाइएको छ ।


प्रतिक्रिया दिनुहोस्