मोटरसाइकल बजारको खेल: बजाजको एकछत्र राज, हिरो र यामाहाबीच प्रतिस्पर्धा, ब्रान्ड ‘रोलक्रम’ कस्तो ?
मोटरसाइकल बजारको खेल: बजाजको एकछत्र राज, हिरो र यामाहाबीच प्रतिस्पर्धा, ब्रान्ड ‘रोलक्रम’ कस्तो ?
काठमाडौं । काठमाडौंको सडकमा हरेक मोटरसाइकलको रफ्तारले बजारको कहानी सुनाइरहेको छ । नेपाली अटोमोबाइल क्षेत्रमा विस्तारै सुधार देखिँदै छ । योसँगै उपभोक्ताको माग तीव्र रूपमा बढिरहेको छ । हरेक ब्राण्ड आफ्नो स्थान कायम गर्न दौडमा छन् । मोटरसाइकल बजारमा प्रतिस्पर्धा अझ रोमाञ्चक बन्दै गएको छ ।
हालै प्राप्त सन् २०२५ का सात महिना (जनवरीदेखि जुलाईसम्म) को तथ्याङ्कले यस्तो देखाएको हो । उक्त अवधिमा १ लाख २५६ युनिट मोटरसाइकल नेपाल भित्रिएका छन् ।
आयातको आँकडा अनुसार बजारमा बजाजले आफ्नो दबदबा कायम राखेको छ । बजाज सबैभन्दा बढी हिस्साको मालिक बनेको छ । सात महिनामा बजाजले ५४ हजार ९३१ युनिट मोटरसाइकल भित्राएको छ । जुन कुल आयातको ५४.७८ प्रतिशत हो । नेपालमा बजाजका मोटरसाइकल पल्सर सिरिज, डोमिनार, एभेन्जर, डिस्कभर मोडल बिक्रीमा रहेका छन् । कम्पनीको आधिकारिक बिक्रेता हशंराज हुलास चन्द एण्ड कम्पनी हो ।
नम्बर वान्को ताज बजाजले कायमै राखेपनि दोस्रो स्थानमा हिरो मोटरसाइकल छ । नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले सात महिनामा १२ हजार ५४५ युनिट ल्याएको छ । यसको हिस्सा कुल आयातको १२.५१ प्रतिशत हो । हिरोका मोडलमा एक्सपल्स, स्प्लेण्डर, सुपर स्प्लेण्डर, एक्सट्रीम पर्दछन् ।
तेस्रो स्थानमा यामाहा रहेको छ । एमएडब्लू राइडले सात महिनामा १० हजार २२२ युनिट मोटरसाइकल आयात गरेको छ । यसले कुल आयातको १०.१९ प्रतिशत हिस्सा ओगटेको छ । यामाहा मोडलमा एफजेड, आर १५, एमटी १५, सलुटो, एक्सटीजेड, डब्लूआर समावेश छन् ।
शीर्ष तीन ब्राण्डबाहेक अन्य ब्राण्डको आयात तुलनात्मक रूपमा कम देखिन्छ । चौथो स्थानमा टीभीएस छ । सात महिनामा टिभिएसले ८ हजार ५०० युनिट मोटरसाइकल आयात गरेको छ । यसले अपाचे आरटीआर सिरिज, रेडर, रोनिन, स्ट्राइकर मोडल बिक्री गर्दै आएको छ ।
पाँचौं स्थानमा रहेको रोयल इन्फिल्डले ७ हजार ५६२ युनिट आयात गरेको छ । नेपालमा क्लासिक ३५०, हन्टर, मेटियर, हिमालयन मोडल चर्चित छन् ।
साना ब्राण्डमा केटीएम ५२२ युनिट, सुजुकी १०८ युनिट, जोनसेन ४५ युनिट, जुमाभ ४५ युनिट, सीएफ मोटो ३५ युनिट र अन्य ४० युनिट आयात भएका छन्
नेपाली मोटरसाइकल बजारमा हाल बजाजको दबदबा स्पष्ट देखिन्छ । तर हिरो, यामाहा र टीभीएसले पनि आफ्नो उपस्थिति मजबुत बनाएर बजारमा चुनौती पेश गरिरहेका छन् ।
नयाँ मोडलको आगमन, उपभोक्ताको बदलिँदो रोजाइ र मूल्य नीतिहरूले आगामी महिनामा बजारको स्वरूपमा ठूलो फेरबदल ल्याउन सक्ने सम्भावना छ । पछिल्लो समय उपभोक्ताको माग निरन्तर बढिरहेको छ । अर्कोतर्फ ब्राण्डहरूबीचको तीव्र प्रतिस्पर्धाले बजारलाई अझ रोमाञ्चक, गतिशील र सम्भावनापूर्ण बनाएको छ ।
हरेक ब्राण्डले आफ्नो रणनीति र मोडलको आकर्षणले ग्राहकलाई आकर्षित गर्ने प्रयास गरिरहेका बेला, आगामी समयमा नेपाली सडकमा कुन ब्राण्डले नेतृत्व लिन्छ भन्ने कुरा अझै रोचक प्रतिक्षाको विषय बन्नेछ ।













