११ श्रावण २०८३, सोमबार

महेश बस्नेतको आक्रोश: ‘सरकार जनताको आवाजसँग डरायो’

महेश बस्नेतको आक्रोश: ‘सरकार जनताको आवाजसँग डरायो’



काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकार लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिरहेको आरोप लगाएका छन् ।

भोलि अर्थात् असोज २५ गते शनिबार युवा संघ नेपालले आयोजना गर्न लागेको मोटरसाइकल र्‍याली जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वीकृति नलिएको भन्दै रोक लगाएको घटनालाई लिएर बस्नेतले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सरकार र प्रशासनले शान्तिपूर्ण कार्यक्रम रोक्न गृह मन्त्रालयको निर्देशनमा अधिकार दुरुपयोग गरिरहेको उल्लेख गरे । उनले लेखेका छन्,‘लोकतन्त्रमा प्रतिबन्ध होइन, जनताको आवाज सुन्ने संस्कार आवश्यक हुन्छ ।’

बस्नेतले आन्दोलनका विगत घटनालाई बहाना बनाएर अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएको प्रतिबन्धलाई लोकतन्त्र, विधिको शासन र जनसत्तामाथिको सीधा प्रहार भनेका छन् । ‘सरकार जनताको आवाजसँग डराएको छ’,उनले लेखेका छन्,‘नेकपा (एमाले) र युवा संगठनले यो घटनालाई गम्भीरता पूर्वक लिएको छ । संविधान र लोकतन्त्रको पक्षमा प्रतिरोधका लागि आवश्यक परे सबै तयार रहनुपर्छ ।’

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै स्वीकृति विना कुनै पनि कार्यक्रम आयोजना गर्न नपाइने स्पष्ट पारेको छ । उक्त निर्णयप्रति एमाले र त्यसका भातृ संगठनहरू आक्रोशित भएका छन् । सोही विषयलाई लिएर युवा संघले शुक्रबार साँझ पत्रकार सम्मेलन पनि गरेको छ ।