अहिले कुनको म्युचुअल फन्डको ‘वित्तीय परफर्मेन्स’ कस्तो ? यस्तो छ नाफा, न्याभ र लगानीको आँकडा - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

अहिले कुनको म्युचुअल फन्डको ‘वित्तीय परफर्मेन्स’ कस्तो ? यस्तो छ नाफा, न्याभ र लगानीको आँकडा



काठमाडौं । सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरुको ‘ब्यालेन्स सिट’ मा अझै सुधार आउन सकेको छैन् ।

सेयर बजारमा आएको गिरावटले अधिकांश फन्डहरुको नाफा, खुद इकाई सम्पत्ति (न्याभ) र सेयर बजारमा लगानी लगायतका सूचकहरु घटेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४५ वटा फन्डहरुको सूचीकृत छन् । ती फन्डहरुले प्रकाशन गरेको गत भदौ मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

भदौसम्मको वित्तीय विवरणअनुसार अधिकांश फन्डहरु घाटामा देखिएका छन् भने न्याभ सबैको घटेको छ । यता, सेयर बजारमा गर्ने लगानीमा पनि गिरावट आएको देखिन्छ ।

आधा दर्जन फन्ड मात्रै नाफामा, अन्य सबै ऋणात्मक

भदौ मसान्तसम्म आइपुग्दा आधा दर्जन फन्डहरु मात्रै नाफामा देखिएका छन् । सो अवधिमा सनराइज फोकस्ड इक्विटी फन्ड, सिटिजन्स सुपर ३०, लक्ष्मी भ्यालु फन्ड–२, एनआइसी एशिया फ्लेक्सी क्याप, सनराइज फर्स्ट म्युचुअल फन्ड, सानिमा ग्रोथ र लक्ष्मी उन्नती कोष मात्रै नाफामा छन् ।

यी बाहेकका ३८ वटा फन्डहरु भने घाटामा देखिन्छन् । जबकि, गत साउन अन्तसम्म भने २८ वटा फन्डहरुको नाफा धनात्मक थियो । भदौसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा सनराइज फोकस्ड इक्विटीले ४ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।

सेयर बजारमा ४८ अर्ब २० करोड लगानी, कसको बढ्यो–कसको घट्यो ?

विवरण अनुसार हाल फन्डहरुले सेयर बजारमा कुल ४८ अर्ब २० करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् । तर, गत साउन मसान्तसम्मको तुलनामा भने यो ०.६२ प्रतिशत कमी हो । सो अवधिमा आइपुग्दा फन्डहरुको कुल लगानी ४८ अर्ब ५१ करोड १३ लाख रुपैयाँ रहेको थियो । सो अवधिमा झन्डै दुई दर्जन फन्डहरुको लगानी बढेको देखिन्छ ।

बजारमा सबैभन्दा ठुलो लगानी एनआइबिएल सहभागिता फन्डको ६ अर्ब १३ करोड ८९ लाख रुपैयाँ छ । यस्तै, एनएमबि सरल बचत फन्ड इको ३ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

भदौ मसान्तसम्म आइपुग्दा सिद्धार्थ सिष्टमेटिक इन्भेष्टमेन्ट स्किमको सेयर बजारमा लगानी १ अर्ब ५४ करोड ४१ लाख, प्रभू सेलेक्ट फन्डको १ अर्ब ३३ करोड ९६ लाख, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोको १ अर्ब २८ करोड १५ लाख, एनआइबिएल समृद्धि फन्ड दोस्रोको १ अर्ब १९करोड ८७ लाख, ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१ को १ अर्ब १३ करोड ७३ लाख, प्रभू स्मार्ट फन्डको १ अर्ब १२ करोड ८४ लाख, सनराइज ब्लुचिप फन्डको १ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।

सबै फन्डको न्याभमा गिरावट, कसको कति कायम ?

भदौ मसान्तसम्म आइपुग्दा साउनको तुलनामा सबै फन्डहरुको न्याभ घटेको छ । साउनमा साढे १३ रुपैयाँसम्म पुगेको न्याभ अहिले ९ रुपैयाँ आसपासमा झरेको छ । विवरण अनुसार सो अवधिमा सबैभन्दा धेरै न्याभ कायम भएको प्रभू स्मार्ट फन्डको १२.०७ रुपैयाँ छ ।

यस्तै, प्रभू सेलेक्ट फन्डको ११.७७ रुपैयाँ, ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१ को ११.६० रुपैयाँ, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रोको ११.४७ रुपैयाँ, हिमालयन ८०–२० को ११.३९ रुपैयाँ, कुमारी सुनौलो लगानी योजनाको ११.१६ रुपैयाँ रहेको छ ।
भदौ अन्तसम्म २५ वटा फन्डको न्याभ १० रुपैयाँ माथि छ भने दुई दर्जनको न्याभ ९ रुपैयाँ माथि कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्