बालेन र सुधन गुरुङलाई पक्राउ गर्न नेविसंघले पनि दियो उजुरी
बालेन र सुधन गुरुङलाई पक्राउ गर्न नेविसंघले पनि दियो उजुरी
काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुधन गुरुङविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी दिएको छ ।
जेनजीका नाममा गत भदौ २३ र २४ मा भएको युवा तथा किशारहरुको आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धान गर्नुपर्ने माग नेविसंघले अघि सारेको छ । यसका लागि संघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो ।
संघ नेपाली कांग्रेसको भातृ संगठन हो । उसले सोझासादा विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदा तथा सम्पत्तिमा क्षति पुर्याएको र सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने भन्दै नेविसंघले प्रहरीको ढोका ढकढक्याएको हो ।
नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहलगायतले उजुरी दिएका छन् । उनीहरुले उजुरी दर्ता गर्न २४ घण्टाको समय दिएका छन् भने लगत्तै बालेन र सुधनलाई गिरफ्तार गर्न पनि भनेका छन् ।
यस्तो उजुरीको श्रृङ्खला भने सुधन गुरुङ र उनको टीमले नै सुरु गरेको थियो । उनीहरुले जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई तत्कालै पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीमा उजुरी दिएको थियो ।
त्यसलगत्तै नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पनि प्रतिकार स्वरुप बालेन र गुरुङलाई गिरफ्तार गरी अनुसन्धान माग गर्दै प्रहरीमा उजुरी दिएको थियो ।













