दशकौँ विवादपछि सहमति : भोटेकोशी जलविद्युतमा अब स्थानीयको १०% सेयर, आयोजना आजै सञ्चालन हुने
दशकौँ विवादपछि सहमति : भोटेकोशी जलविद्युतमा अब स्थानीयको १०% सेयर, आयोजना आजै सञ्चालन हुने
काठमाडौं । भोटेकोशी जलविद्युत आयोजनासँग जोडिएको लामो समयको विवाद अन्तत: टुंगिएको छ ।
आयोजनाको प्रवद्र्धक भोटेकोशी पावर कम्पनी र प्रभावित स्थानीयको प्रतिनिधि संस्था जेनजी पब्लिक इन्भेस्टमेन्ट लिमिटेडबीच सहमति भएपछि आयोजना पुन: सञ्चालनमा आउने भएको हो ।
सहमति अनुसार स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराइनेछ । सेयर खरिदका लागि आवश्यक कर्जा बैंकमार्फत उपलब्ध हुने र लाभांशबाट फिर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, कम्पनीले भोटेकोशी गाउँपालिकामा वार्षिक दुई करोड ५० लाख रुपैयाँ सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नेछ । दुवै पक्षबीचको सहमतिपछि आयोजना आजैदेखि सञ्चालनमा आउने र सुरक्षाको जिम्मेवारी स्थानीय पक्षले लिने भएको छ ।
सहमति भएका बुँदाहरु केके हुन् ?
१. भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड (दोस्रो पक्ष) ले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो ।
दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनेको उल्लेखित १० प्रतिशत शेयर साबिक मिति २०७१।०९।०९ को सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरियो ।
२ दोस्रो पक्षको शेयरको अंकित मुल्य रु १०० रहेको सन्दर्भमा स्थानीयको तर्फबाट लगानी गर्ने पब्लिक कम्पनीले दोस्रो पक्षमा हाल्ने शेयर सम्बन्धमा प्रथम पक्षले कर्जाको लागी बैंकमा निवेदन दिने र बैंकले दिने कर्जाको लागी दोस्रो पक्षले जमानीको ब्यवस्था गर्ने एवम् सो कर्जा आगामी १ वर्षको लाभांशबाट दोस्रो पक्षको आयोजना निर्वाध रुपमा सधै सञ्चालन भएको अवस्थामा कर्जा तथा व्याज समेत चुक्ता हुने गरि दोस्रो पक्षले व्यवस्था गर्ने सो लाभांशबाट फछ्र्याैट नभएमा दोस्रो पक्षले बाँकी कर्जा बराबरको रकम सकार्ने सहमति गरियो ।
पहिलो पक्षले दोस्रो पक्षको १० प्रतिशत शेयरको लागि जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई पहिलो पक्षको कम्पनीको शेयरधनी बनाई सके पछि दोस्रो पक्षको १० प्रतिशत शेयरको लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने सहमति गरियो ।
३ दोस्रो पक्षले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्व वापत दिदै आएको साविकको रकममा थप गरि बार्षिक रुपमा जम्मा रु २,५०,००,००० (अक्षरेपी दुई करोड पचास लाख मात्र) दिने सहमती गरियो । अब उप्रान्त साबिकमा बिभिन्न शीर्षकमा दिदै आएको रकम प्रथम पक्ष लगाएत कसैले पनि दाबी नगर्ने सहमति समेत गरियो ।
४ दोस्रो पक्षको आयोजनामा बिभिन्न पक्षहरुबाट भविष्यमा आउन सक्ने मागहरु तथा समस्याहरुको समाधानको लागी प्रथम पक्षको समेत पूर्ण साथ र सहयोग रहने सहमति. गरियो ।
५ आयोजनाको पावर प्लान्ट आजैका मितिबाट सञ्चालन गर्ने सहमति गरियो । स्थानीय प्रभावितहरुलाई सहमतिको जानकारी दिई आयोजनाका कर्मचारीहरुको सुरक्षा समेत गरि शान्तिपुर्वक सञ्चालन गर्ने जिम्मेवारी प्रथम पक्षले लिने सहमति गरियो ।













