सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुन र उनका छोराहरूमाथि पनि अनुसन्धान
सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुन र उनका छोराहरूमाथि पनि अनुसन्धान
काठमाडौं । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी गरिएको प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूमाथि पनि प्रहरी अनुसन्धान अघि बढाइएको छ ।
यसअघि सोही प्रकरणमा माओवादीका अर्का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परिसकेका छन् ।
पुनका जेठा छोरा जितेन्द्र पुनले दुई वर्षअघि हुम्लाबासीको नक्कली कागजात बनाएर चिनियाँ समूहसँग चार किलो सुनको लेनदेन गरेको आशंकामा मुछिएका थिए भने कान्छा छोरा दीपेश पुन ९ किलो र ६१ किलो सुन तस्करी प्रकरणसहित सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा पनि संलग्न देखिएको प्रहरीको भनाइ छ ।
दीपेश हाल फरार छन् भने पूर्वउपराष्ट्रपतिका सचिवालय सदस्य जीवनकुमार गुरुङ र आफन्त अमला रोका पनि सुन काण्डमा पक्राउ परेका थिए ।
पुनको चिनियाँ समूहसँग नजिकको सम्बन्ध रहेको र उनका परिवार तथा सचिवालयका सदस्यहरू सुन तस्करीमा जोडिएकाले अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।













