११ श्रावण २०८३, सोमबार

नर्सिङको तलब सरकारी स्तरमा कायम राख्न निर्देशन

नर्सिङको तलब सरकारी स्तरमा कायम राख्न निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी र निजी अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य प्रतिष्ठानलाई नर्सिङ र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरहभन्दा तल नघटाउने गरी लागू गर्न पत्राचार गरेको छ ।

यसअघि पनि निर्देशन दिइएको भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएको गुनासो आएपछि फेरि एकपटक यसबारे निर्देशन जारी गरिएको हो ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरूले तोकिएको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

मन्त्रालयले अतिरिक्त कामका लागि भत्ताको व्यवस्था गर्न र पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।

साथै, करारमा राखिएको स्वास्थ्यकर्मीलाई ज्यालादारी कार्य गराउन नपाइने र शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्नुपर्ने निर्देशन पनि मन्त्रालयले दिएको छ ।