पुँजीबजार सुधार कार्ययोजना सार्वजनिक, सेबोनले तोक्यो कार्यान्वयनको समयसीमा
काठमाडौं । पुँजीबजार सुधारका लागि गठित कार्यदलको सिफारिस अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तत्काल कार्यान्वयन गर्नुपर्ने सुधारका लागि कार्ययोजना सार्वजनिक गरेको छ ।
सेबोनले तयार पारेको कार्ययोजनामा केही महत्वपूर्ण सुधारका कामहरूका लागि स्पष्ट समयसीमा तोकिएको छ । मार्जिन कारोबार प्रणाली कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायीमार्फत लागू गरिने उल्लेख छ ।
यस्तै, बोनस सेयर वितरणमा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्ने व्यवस्था तुरुन्त लागू गरिने, दुई वा बढी हितग्राही खाता खोल्न दिने प्रक्रिया कात्तिक १५ भित्र सम्पन्न गरिने र भुक्तानी असमर्थता वा ढिलाइ हुँदा देखिने दायित्व तथा प्रतिफल भुक्तानीसम्बन्धी प्रावधान मंसिर १५ सम्म एकरूप बनाइने उल्लेख छ ।
अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हालेलगत्तै आसोज ३ गते कार्यदल गठन गरेका थिए । धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहेको सो ४ सदस्यीय कार्यदलमा राष्ट्र बैंक, नेप्से र अर्थ मन्त्रालयका प्रतिनिधिहरू समावेश थिए ।
कार्यदलले पुँजीबजारको तत्काल सुधारका लागि प्रणालीगत तथा प्रक्रियागत सिफारिससहित कार्ययोजना बिहीबार अर्थमन्त्रीलाई बुझाएको हो ।
















